सत्ता गठबन्धनको बैठक बस्दै, आजै मन्त्रिपरिषद् विस्तारको तयारी

सत्ता गठबन्धनमा आबद्ध दलहरूले पाउने मन्त्रालयको विषयलाई आज टुंग्याउँदै छन् । बुधबारको गठबन्धन बैठकमा मन्त्रालयको संख्याको विषयमा सहमति जुटे पनि कुनकुन मन्त्रालय पाउने भन्नेमा भने अझै टुंगो लाग्न सकेको छैन ।

मन्त्रालय बाँडफाँटको विषयलाई टुङ्ग्याउन आज बिहान पनि गठबन्धनको बैठक बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सचिवालयका अनुसार आज बस्ने बैठकले मन्त्रालयको नाम टुंगो लगाउने र आजै मन्त्रीको शपथ गराउने तयारी छ ।  

बुधबारको गठबन्धनको बैठकमा भएको सैद्धान्तिक सहमतिअनुसार नेपाली कांग्रेसले आठ, माओवादीले पाँच, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा) ले दुई/दुई मन्त्रालय पाउने छन् । 

त्यस्तै, लोसपा, नागरिक उन्मुक्ति, नेपाल समाजवादी पार्टी र प्रभु साहले एक/एक मन्त्रालय पाउने सहमति भएको छ । सरकारलाई विश्वासको मत दिएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को भागमा भने कुनै पनि मन्त्रालय छुट्याइएको छैन ।  

यसैबीच, मन्त्रीको नाम टुंगो लगाउन नेपाली कांग्रेसले केन्द्रीय कार्य सम्पादनको बैठक बोलाएको छ । बिहान ११ बैठक बस्ने बैठकले मन्त्रीको नाम टुंग्याउने  कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिए । 

नेकपा एकीकृत समाजवादीले भने बुधबार नै मन्त्रीको नाम टुंग्याएको थियो । बुधबार बसेको पार्टी पदाधिकारी बैठकले पार्टी उपाध्यक्ष वेदुराम भुसाल र प्रमुख सचेतक प्रकाश ज्वालालाई मन्त्री बनाउने निर्णय गरेको हो ।  



तीन मन्त्रालय आफ्नो दलले पाउनुपर्ने दाबी गर्दै आएकोमा एकीकृत समाजवादीले अन्ततः दुईवटा मन्त्रालय पाउने सहमति बनेको हो । 



  • प्रकाशित मिति : चैत १६, २०७९ बिहीबार ७:१२:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया