मन्त्रिपरिषद् विस्तार आज, ३ बजे शपथको तयारी

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्रीले दलहरूलाई दिउँसो १ बजेभित्र मन्त्री बन्नेहरूको नामावली बुझाउन आग्रहसमेत गरिसकेका छन् । 

दलहरूको नामावली आएपछि दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ ग्रहण समारोह हुने प्रधानमन्त्री प्रचण्डका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले जानकारी दिए ।

१० पुसको सत्ता गठबन्धन भत्किएसँगै प्रधानमन्त्री प्रचण्डले एक महिनादेखि १६ मन्त्रालयको जिम्मेवारी आफैं सम्हाल्दै आएका छन् । नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सरकारबाट बाहिरिएपछि ती मन्त्रालय रिक्त रहेका हुन् । 

अहिले सरकारमा चार मन्त्री मात्रै छन् । प्रधानमन्त्री प्रचण्डले बिहीबार नै मन्त्रिपरिषद विस्तार गर्ने बताएका थिए । तर सत्ता साझेदार दलहरूबीच केही मन्त्रालयमा कुरा नमिल्दा प्रधानमन्त्री प्रचण्ड आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।  

सत्ता साझेदार दलहरूबीच कांग्रेसले ८, माओवादी केन्द्रले ५, एकीकृत समाजवादी र जनता समाजवादी पार्टी (जसपा) ले २/२ र जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र नेपाल समाजवादी पार्टीले एक/एक मन्त्रालय पाउने सहमति भएको छ । 

केही दलहरूले मन्त्री बन्नेको सूची पनि तयार पारिसकेका छन् । कांग्रेस उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा सरकारमा जाने भएको छ ।



कांग्रेसबाट खड्कासहित उपसभापति धनराज गुरुङ, नेताहरू रमेश रिजाल, एनपी सावद, सीता गुरूङ, डिगबहादुर लिम्बू, प्रकाशशरण महत र मोहनबहादुर बस्नेत मन्त्री बन्ने सम्भावना उच्च छ । 

नेकपा एसबाट प्रकाश ज्वाला र बेदुराम भुसाल मन्त्री बन्दैछन् । लोसपाबाट शरतसिंह भण्डारी र नाउपाबाट रञ्जिता चौधरीको नाम चर्चामा छ । 



  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार ८:१४:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया