आरजुको अर्को नाम- ‘देउवा गिरोहको सरदार’
फाइल तस्बिर

‘मेरो त रगतमै कांग्रेस छ’ भन्ने ठान्ने स्वर्णिम वाग्लेलाई अचानक नेपाली कांग्रेस किन मन परेन ? किन उनले कांग्रेस त्यागे ?  

वाग्लेले बिहीबार कांग्रेस किन छाडेको भन्ने प्रश्नको उनले फेसबुकमार्फत सार्वजनिक जवाफ दिए  ।                                                                                                                                             
शेखर कोइराला, गगन थापा, विश्वप्रकाश शर्मा र गोविन्द पोखरेललाई सम्बोधन गर्दै पार्टी त्याग गरेको बताए । पार्टी परित्यागको कारण पनि बताए । वाग्लेले कांग्रेस त्याग्नुभन्दा पनि उनले जुन कारण बताएर कांग्रेस त्यागे त्यो विशेषगरी आम कांग्रेसजनका लागि ठूलै झट्का बन्न पुग्यो । 

वाग्लेले के लेखे ? उनले लेखे ‘पछिल्ला वर्ष कांग्रेस पार्टीभित्रका गतिविधि नियालेका प्रत्येक स्वाभिमानी कांग्रेसजनको शिर निहुरिने अवस्था आएको छ, जननायक बीपी कोइराला, गणेशमान सिंह, सुवर्णशमशेर र किसुनजीको ऐतिहासिक दल अहिले दाइ–भाउजू–भतिजको अक्षम गिरोहमा परिणत हुने क्रममा छ ।’ 

‘देउवा–आरजु गिरोह’ को निरन्तर हेपाइ र अपमानका कारण पार्टी त्याग गरेको उनको जिकिर छ । उनले भनेका छन्,‘अब कुरेर बस्ने, कृपा र निगाहको जीवनपर्यन्त राजनीतिभन्दा समयसीमा तोकेर आफ्नो उमेर,ज्ञान,ऊर्जा सान्दर्भिक रहँदै ‘डेलिभरी’ प्रयोजनमा जान चाहें ।’

के कांग्रेसभित्र वाग्लेले भनेजस्तै ‘देउवा–आरजु गिरोह’ अस्तित्वमा छ ?
पार्टीभित्र सभापतिको निर्णय हावी हुनु अस्वाभाविक कुरा होइन् । तर वाग्लेले पार्टी छाडनुमा किन सभापति पत्नी आरजुलाई पनि दोषी देखे ? कांग्रेसभित्र आरजुको हैकम चल्दै आएको हो ? कांग्रेस देउवा परिवारकै वरिपरीमात्र परिक्रमा गर्छ ? वा गर्नुपर्छ ?

यसलाई बुझ्नका लागि सभापति पत्नी आरजु राणा देउवाको दिमागमा पछिल्लो समय के चलिरहेको छ भन्ने बुझनु आवश्यक हुन्छ । आरजुको बुझाईमा काग्रेसभित्र कोइराला परिवारको वर्चस्व सकिदै गएको छ । राष्ट्रपति उपहार दिएर कांग्रेसबाट किनारा लगाइसकिएको उनले ठानेकी छिन् । बाँकी रहेको शेखर कोइराला–गगन थापा–विश्वप्रकाश शर्माको गुटमात्र उनकोलागि तगारो हो । सायद यसैले होला,आरजुले यो गुटको  विश्वसनीयतामाथि प्रश्न उठाउँदै आफू निकटकालाई यस्तो भावको जवाफ दिने गर्छिन,‘नेपाली कांग्रेस भनेको देउवा परिवार वरिपरि मात्र घुम्छ ।’



श्रीमती देउवाको यस्तो सन्देशको प्रस्ट आशय हो– देउवा परिवार निकटस्थबाहेक अरू नेता–कार्यकर्ताको कुनै महत्व छैन र पार्टीमा उनीहरूको स्थान पनि छैन । श्रीमती देउवाको यस्तो बोलीको अनेक अर्थ लाग्छ, लगाउन सकिन्छ । यसले उनी पार्टीभित्र कतिसम्म शक्तिशाली छिन् भन्ने देखाउँछ । 

यसको एउटा अर्थ हो, सभापति देउवा आफ्ना अधिकारहरू अनधिकृत रूपमा पत्नीलाई सुम्पिरहेका छन् । श्रीमती देउवामा केही परिवार र आफ्ना आसेपासेबाहेक अरूलाई गणनासम्म नगर्ने दम्भी स्वभाव विकसित हुँदै गएको छ । 



फागुन ०७२ मा भएको १३ औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व देउवाको हातमा आएपछि श्रीमती देउवा पार्टी निर्णय प्रक्रियामा बिस्तारै हावी हुन थालेकी हुन् । त्यसैको परिणति हो, पार्टीमा उनी छुट्टै शक्तिकेन्द्रका रूपमा स्थापित हुनु । जस्तो : आफूलाई ‘गुड म्यानेजर’ मान्ने उनले पति देउवाका ‘किचन क्याबिनेट’ भनिएका कतिपय नेताहरुलाई आफूले भनेको मान्ने बनाइसकेकी छन् । त्यसैले सभापति देउवाप्रति मात्र बफादारहरू आरजुलाई ‘दर्शन हजूर’ नभनी अघि बढ्न सक्ने स्थिति छैन । 

खासमा पार्टीको संस्थापन पक्षमा सभापति देउवाका तर्फबाट अधिकांश निर्णय श्रीमती देउवाले नै गर्छिन् । स्वभावतः आफ्ना निर्णयमा सभापतिले श्रीमतीको सरसल्लाह पनि लिने भई नै हाले । 

प्रतिनिधिसभा,प्रदेशसभा देखि स्थानीय तहको निर्वाचनमा टिकट दिने बेला पनि श्रीमती देउवाको भूमिका प्रधान भएर आइदिन्छ ।  सभापति देउवाको भागमा परेको टिकट वितरणमा उनी नै हाबी हुन्छिन् । उम्मेदवारको टुंगो लगाउने जिम्मेवारी रुपमा ज–जसले पाएको देखिए पनि सारमा श्रीमती देउवाले नै निर्वाचनमा अन्तिम निर्णय दिँदै आएकी छिन । अर्थात् टिकटको अन्तिम नामावलीमा ‘आरजु म्याडम’ कहाँबाट लालमोहर लगाउनै पर्छ  ।

पार्टी र सरकार सञ्चालनमा आफूलाई नजरअन्दाज गरेर कोही पनि अघि बढ्न सक्दैन भन्ने सन्देश दिन श्रीमती देउवा सफल भएकी छन् । ७७ वर्षीय देउवाको होस्ल्याङे बानी र स्मरण शक्तिमा आउन थालेको ह्रासका कारण पत्नीले सहयोग गर्नु स्वाभाविक हो,अन्यथा होइन ।

तर, निर्णय प्रक्रियामा नै हाबी हुने प्रवृत्तिलाई भने आमकांग्रेस कार्यकर्ताले पचाउने कुरा भएन । वाग्लेले कांग्रेस छाड्दा किन आरजुलाई पनि कारण माने भन्ने प्रश्नको जवाफको एउटा कडी पनि यही हो ।

कांग्रेसबाट वाग्लेले देउवा पत्नीलाई समेत  मुछेर जुन अभिब्यक्ति दिए,त्यसले एउटै सन्देश दिएको छ–कांग्रेसमा टिक्ने हो र अवसर प्राप्त पनि गर्ने हो भने  देउवा (शेरबहादुर) को दाहिना भएर मात्रै पुग्दैन अर्की देउवा(आरजु राणा)को खास मान्छेको रुपमा स्थापित हुन नसक्ने हो भने अरु सबै कुरा गौण हुन ।

समय राणाकालिन होइन, तर आफू र आफ्नो परिवारबाहेक अरुलाई रैती ठान्ने प्रवृत्ति आरजुको यो स्वभाव कांग्रेसका लागि कति घातक हो देखिँदै जाने छन् । यही प्रवृत्तिका कारण कांग्रेसले पुष्करनाथ ओझादेखि पछिल्लो समय स्वर्णिम वाग्लेसम्मलाई गुमाउँदै गएको छ । नसुध्रिए अझै धेरै गुमाउँदै जाने छ । 

  • प्रकाशित मिति : चैत १७, २०७९ शुक्रबार १६:८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया