मध्यपहाडी लोकमार्गको बाग्लुङ-घोडाबाँधे खण्डको दुर्दशा : हिउँदमा धुलाम्य, बर्खामा हिलाम्य

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गअन्तर्गत बागलुङको अक्षते–घोडाबाँधे सडकको ट्रयाक खुलेको साढे दुई दशक बितिसक्यो । यतिका समयसम्म पनि यस खण्डको अधिकांश सडक कालोपत्र भएको छैन ।

हिउँदमा धुलो र बर्खामा हिलोका कारण स्थानीय विस्थापित हुनुपरेको छ भने यात्रु आजित बनेका छन् । करिब २६ किलोमिटर लामो यस खण्डमा पछिल्लो समय उपल्लाचौर–अक्षते क्षेत्रमा भने धमाधम काम भइरहेको छ । 

माथिल्लो बिहुँ खण्डमा भने काम हुन सकेको छैन । लोकमार्ग कार्यालयले बागलुङ बजारदेखि घोडाबाँधेसम्मको सडक दुई खण्डमा विभाजन गरी ठेक्का दिएको छ ।

दुई खण्डमा कालोपत्रका लागि २०७२/७३ मा सम्झौता भएको थियो । हालसम्म १२ किलोमिटर सडक कालोपत्र भए पनि अझै १३ किलोमिटर सडक बाँकी नै छ । बिहुँ र अक्षते खण्डको काम गर्ने असारसम्म छ । बिहुँमा सुस्त गतिमा काम हुँदा समयमै सकिने अवस्था छैन । 

बागलुङदेखि खहरेसम्म केही समय अघि सडक कालोपत्र गरिएको थियो भने हाल खहरेदेखि अक्षतेसम्म काम भइरहेको छ । उक्त खण्डमा चौडा गर्ने, नाली व्यवस्थापन र अलकत्रा बिछ्याउने काम भइरहेको छ । 

‘हिउँदमा धुलो र बर्खामा हिलो घरभित्र पस्छ,’ बागलुङ नगरपालिका–३ खहरेका जङ्गबहादुर कार्कीले भने, ‘सडकमा पानी हाल्दाहाल्दैमा अधिकांश समय बित्छ ।’ 



माथिल्लो खण्डमा कामलाई तीव्रता दिन स्थानीयले माग गरेका छन् । सडक कालोपत्रका लागि निर्माण कम्पनीसँग सम्झौता भएको एक दशक बित्नै लाग्यो । पटक–पटक म्याद थप गर्ने गरिएको छ । 

निर्माण कम्पनीको ढिलासुस्तीले काम सम्पन्न हुन नसकेको स्थानीय वीरबहादुर विकले बताए । ‘सडक छेउछाउ घर बनाउने क्रम बढे पनि धुलो र हिलोले सास्ती भएको छ,’ उनले भने ।  



लोकमार्गको कूल १ हजार ७ सय ७६ किलोमिटर क्षेत्रमध्ये बागलुङ खण्ड १ सय ४२ किलोमिटर लामो छ । निसीखोला क्षेत्रमा दुई वर्षअघि सडक कालोपत्र भइसकेको छ । घोडाबाँधेदेखि गलकोट हटियासम्मको सडक एक दशक अघि नै कालोपत्र गरिएको थियो । उक्त खण्डको हाल मर्मतसम्भार हुँदैछ । 

असार मसान्तसम्म सबै काम सम्पन्न हुने लोकमार्ग आयोजना कार्यालय, पर्वतका सूचना अधिकारी मिलन श्रेष्ठले बताए । ‘काम नसकिए ठेक्का रद्द हुन्छ,’ उनले भने । रासस 

  • प्रकाशित मिति : चैत २७, २०७९ साेमबार ७:३०:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया