\
लिग वानमा लेन्सविरुद्ध पेरिस सेन्ट जर्मेन (पिएसजी) ३–१ ले विजयी भएको छ । गएराति भएको खेलमा पिएसजीको जितमा केलियन एम्बाप्पे, भिटिन्हा र लियोनल मेस्सीले गोल गरे ।
लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले एक गोल फर्काए । खेलको १९ औँ मिनेटमा सलिस अब्दुल समेद रातो कार्ड प्राप्त गरेपछि लेन्स १० खेलाडीमा समेटियो ।
३१ औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाए । योसँगै उनी पिएसजीका सर्वाधिक गोलकर्ता बनेका छन् । अघिल्लो खेलमा उनले एडिन्सन काभानीको कीर्तिमान बराबरी गरेका थिए ।
एम्बाप्पेले पिएसजीका लागि १६९ खेलमा १३९ गोल गरेका छन् । लेन्सविरुद्ध ३७ औँ मिनेटमा भिटिन्हाले गोल गरेपछि पिएसजीले दोब्बरको अग्रता पायो । ४० औँ मिनेटमा एम्बाप्पेको पासमा लियोनल मेस्सीले गोल गरेपछि पिएसजी पहिलो हाफमै ३–० को अग्रता लियो ।
खेलको ६०औँ मिनेटमा लेन्सका प्रजेमिस्लाव फ्रान्कोस्कीले पेनाल्टीमार्फत गोल गर्दै खेल ३–१ मा स्थितिमा ल्याए पनि त्यो जितका लागि पर्याप्त भएन ।
यो जितसँगै शीर्ष स्थानको पिएसजीले ९ अंकको स्पष्ट अग्रता लिएको छ । उसको ३१ खेलबाट ७२ अंक छ । दोस्रो स्थानमा रहेको लेन्सको समान खेलबाट ६३ अंक छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।