एसिसी प्रिमियर कप
मलेसियाविरुद्ध सहज जितको खोजीमा नेपाल, यस्तो छ सम्भावित प्लेइङ–११

आजदेखि काठमाडौंमा एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिता सुरु हुँदैछ । प्रतियोगिताको पहिलो दिन नेपालले मलेसियाविरुद्ध खेल्दै छ । यस्तै, अर्को खेलमा सिंगापुर र हङकङ प्रतिस्पर्धा गर्दैछन् ।

नेपाल र मलेसियाबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदान तथा हङकङ र सिंगापुरले मूलपानी मैदानमा हुनेछ । मूलपानीमा पहिलोपटक अन्तर्राष्ट्रिय खेल हुन लागेको हो ।

दुवै खेल बिहान साढे ९ बजे सुरु हुने तालिका छ । नेपाल र मलेसिया समूह ‘ए’ तथा सिंगापुर र हङकङ समूहमा ‘बी’ मा रहेका छन् । मलेसियाविरुद्ध नेपाल सहज जितको खोजीमा छ । मलेसिया भने घरेलु टोली नेपाललाई हराउँदै इतिहास रच्ने दाउमा छ ।

सन् २०१२ यता मलेसियासँग नेपालले पाँच वानडे म्याच खेलेको छ । जसमा नेपाल अपराजित छ । पछिल्लोपटक यी दुई टोलीले २०१८ मा प्रतिस्पर्धा गरेका थिए । जसमा नेपालले मलेसियालाई १९ रनले हराएको थियो ।   

सन् २०१४ मा भएको आइसिसी क्रिकेट लिग डिभिजन–३ को दुई खेलमा मलेसियाविरुद्ध नेपाल ३६ रन र ५ विकेटले विजयी भयो । २०१२ मा एसिसी ट्रफी एलिटको सेमिफाइनलमा नेपालले मलेसियालाई २१ रनले हरायो ।

सोही वर्षको सेप्टेम्बरमा भएको क्रिकेट लिग डिभिजन–४ मा नेपालले मलेसियाविरुद्ध १० विकेटको कीर्तिमानी जित निकालेको थियो । नेपाल यसपालि प्रिमियर कपमा पनि मलेसियाविरुद्ध फराकिलो जित निकाल्ने योजनामा छ । 



प्रिमियर कपमा १० टोलीले प्रतिस्पर्धा गर्दै छन् । समूह ‘ए’ मा नेपालसहित मलेसिया, ओमान, कतार र साउदी अरेबिया तथा समूह ‘बी’ मा यूएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।  उपाधि जित्ने टोलीले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । 

मलेसियाविरुद्ध नेपालको सम्भावित–११ : कुशल भुर्तेल, आसिफ शेख (विकेटकिपर), रोहितकुमार पौडेल (कप्तान), भीम सार्की, दीपेन्द्र सिंह ऐरी, कुशल मल्ल, आरिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र ललितनारायण लामिछाने ।



नेपालको पूर्ण टोली : कुशल भुर्तेल, आसिफ शेख, ज्ञानेन्द्र मल्ल, कुशल मल्ल, रोहितकुमार पौडेल ९कप्तान०, आरिफ शेख, दीपेन्द्रसिंह ऐरी, भीम सार्की, गुलशन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी र प्रतिश जिसी ।

वैकल्पिक खेलाडी : सन्दीप जोरा, किशोर महतो, अर्जुन साउँद र सूर्य तामाङ । 

  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार ६:५०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया