वैशाख २० सम्म बेनी-जोमसोम सडकखण्ड दैनिक ६ घण्टा बन्द

म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई राष्ट्रिय राजमार्गसँग जोड्ने बेनी–जोमसोम सडक सोमबारदेखि दैनिक ६ घण्टा यातायात सेवा बन्द हुन थालेको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ रुप्से झरना क्षेत्रमा पहिरो रोकथाम, ‘बेलिब्रिज’ निर्माण र सडक विस्तारका लागि यातायात सञ्चालन गर्ने समयतालिका बनाइएको हो । प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले वैशाख ४ देखि २० गतेसम्म बिहान ६ देखि ९ र दिउँसो १ देखि ३ बजेसम्म यातायात आवतजावत बन्द गरेर निर्माण गरिने जानकारी दिए । 

यसअघि गत चैत ३ देखि १४ गतेसम्म रुप्से खण्डमा सोही समयमा यातायात बन्द गरिएको थियो । पहिराले क्षति गरेको साँघुरो सडकमा यातायात सञ्चालन, सडक, पुल निर्माण र पहिरो व्यवस्थापनको काम सँगै गर्दा जोखिम भएकाले यातायात रोकेर काम गर्ने समयतालिका बनाइएको सडक आयोजनाले जनाएको छ ।

निर्माण व्यवसायीले बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत जिल्ला प्रशासन कार्यालय म्याग्दीमा समय व्यवस्थापनका लागि पत्राचार गरेका थिए । म्याग्दीबाट मुस्ताङ जाने र मुस्ताङबाट म्याग्दीतर्फ आउने सवारीसाधनले सडक बन्द हुने समयअगावै रुप्से खण्ड पार गर्नुपर्नेछ ।

एम्बुलेन्स र अत्यावश्यक सवारीसाधनको हकमा भने सडकमा सहज आवतजावतको व्यवस्था मिलाउने प्रशासनले जनाएको छ । राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर बेनी–जोमसोम–कोरला सडक आयोजनामार्फत पर्वतको मालढुङ्गाबाट म्याग्दी हुँदै मुस्ताङको कोरलानाका जोड्ने सडक स्तरोन्नति, विस्तार र कालोपत्र गर्ने काम विभिन्न खण्डमा भइरहेको छ । रासस 





  • प्रकाशित मिति : बैशाख ५, २०८० मंगलबार ७:०:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया