राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहितको ८ सदस्यीय प्रतिनिधि मण्डल रुस प्रस्थान गरेको छ ।
बुधबार बिहान अध्यक्ष तिमिल्सिनासहित राष्ट्रिय सभा सदस्य वामदेव गौतम, रमेशजंग रायमाझी, दिलकुमारी थापा रावल पार्वतीलगायतको ८ सदस्यीय टिम रुस प्रस्थान गरेको हो । प्रस्थान गर्नुअघि सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा उच्चस्तरीय भेटघाट र दुई देशका संसदबीच सम्झौता हुने बताए ।
उनले दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एकअर्काबीच कुरा हुने पनि बताए । राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले भ्रमणमा ९ जना उच्चस्तरीय व्यक्तित्वसँग भेट गर्ने कार्यसूची जानकारी दिए
‘उच्चस्तरीय भेटघाट हुनेछन् । दुई देशका संसदहरूको बीचमा एमओयु पनि हामी गर्नेछौँ । दुई देशको संसदीय गतिविधिको बारेमा जानकारी गराउने, भ्रमणको आदान प्रदान गर्ने, संसदलाई प्रभावकारी बनाउन एक अर्काबीच सिक्ने कुराहरू उल्लेख हुनेछ,’ तिमिल्सिनाले भने, ‘दुवै सदनका प्रमुख र त्यहाँका सरकारी उच्च अधिकारीसँग र व्यावसायिक व्यक्तित्वहरूसँग र प्रदेश प्रमुखसहित करिब ९ जना विशिष्ट व्यक्तित्वसँग हाम्रो भेट हुनेछ । वैशाख १२ गते दिउँसो ४ः४५ बजे करिब हामी यहाँ आउनेछौँ ।’
भ्रमण टोलीमा रहेका राष्ट्रिय सभा सदस्य वामदेव गौतमले दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा भ्रमण हुन लागेको बताए । उनले रुसले राष्ट्रिय सभाको प्रतिनिधित्व हुनेगरी उच्चस्तरको भ्रमण पहिलोपटक बोलाएको बताए । गौतमले आफूहरू नेपाली जनताको सद्भाव बोकेर रुस प्रस्थान गर्न लागेको भन्दै नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको सद्भावसमेत रुसमा व्यक्त गर्ने बताए ।
‘दुई देशका संसदबीचको सम्बन्ध सुदृढ गर्ने सन्दर्भमा हाम्रो भ्रमण हुँदैछ । यो सम्भवतः रुसले हाम्रो राष्ट्रिय सभाको प्रतिनिधित्व हुने गरी यति उच्चस्तरको भेट/भ्रमण पहिलो होला जस्तो लाग्छ मलाई, हाम्रो यसपटकको भ्रमणको महत्व धेरै छ । उच्चस्तरीय भेट भइसकेपछि हाम्रो तर्फबाट अध्यक्षले सम्पूर्ण विषयहरू राख्नुहुनेछ,’ गौतमले भने, ‘नेपाली जनताको सद्भाव बोकेर रुस जाँदैछौँ । नेपाली जनता, नेपाल सरकार, राष्ट्रिय सभा संघीय संसदको समेत हाम्रो सद्भाव रुसमा गएर व्यक्त गर्नेछौँ । उताबाट पनि त्यत्तिकै महत्वका साथ हाम्रा सम्बन्धहरू भविष्यमा विकसित हुँदै जाने र नेपालको भ्रमण गर्ने अवस्था आउने नै छ । सद्भाव पूर्ण रुपले सफल हुनेछ ।’
रुस प्रस्थान गरेको ८ सदस्यीय टोली १२ वैशाखमा स्वदेश फर्किने तालिका छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।