मासिँदै कर्णाली सभ्यता

कर्णाली प्रदेशको दुर्गम हिमाली जिल्ला हुम्लामा सडक पूर्वाधारको बिस्तारसँगै प्रदूषण बढ्न थालेको छ । सडक पूर्वाधारको विकास र बिस्तार भएसँगै कर्णाली नदी प्रदूषित हुन थालेको हो भने स्थानीय उत्पादन घट्दा परनिर्भरता पनि बढ्न थालेको हो । 

कर्णाली कोरिडोरको सडक बिस्तारसँगै हुम्लाको सर्केगाड गाउँपालिकाको मुख्य बजार सर्केगाडमा साविकको साँया गाविस र गोठी गाविसमा मानिसहरूका साथै बाहिरी जिल्लाबाट बसाइँ सरेर सडक छेउछाउमा बस्न आउने क्रम पनि बढ्न थालेको छ । साँयाका ४ वटा गाउँका मानिसहरूको दैनिक उपभोग गर्ने सामानहरूको मुख्य बजार भएका कारण पनि सर्केगाडमा बजार बिस्तारको क्रम बढेको हो । 

बजार बिस्तारको क्रम बढ्न थालेसँगै कर्णाली नदी पनि दूषित हुन थालेको छ । बजारबाट निस्किने फोहोर तथा ढल कर्णाली नदी किनारमा फाल्ने र नदी छेउछाउ खुला शौच गर्ने क्रम बढेका कारण कर्णाली नदी दूषित बन्दै गएको भन्दै स्थानीयहरूले दुखेसो पोखेका छन् । 

कर्णाली कोरिडोर निर्माण हुनुअघि यहाँका मानिसहरू कर्णालीकै पानी पिउने गर्दथे । तर, कोरिडोर निर्माणसँगै बस्ती विकासको क्रम बढ्दा नदी दूषित हुन थालेपछि कर्णालीको पानी नुहाउन, लुगा धुन तथा भाडा माझ्न मात्रै प्रयोग गर्न थालिएको स्थानीयवासी बताउँछन् । स्थानीय रेलकला शाहीले शौचालयको ढल, खानेपानीको ढल निकासी गर्ने क्रम कर्णाली नदीमा बढेसँगै नदी प्रदूषित हुन पुगेको बताइन् । उनले कर्णालीमा फोहोर बढ्दा पानी पिउन योग्य नरहेको बताइन् । 

त्यस्तै अर्का स्थानीय भीमबहादुर सिंहले कर्णाली नदीको छेउछाउमा बस्तीहरू बढेसँगै फोहोर बढेकाले पानी पिउन योग्य नरहेको बताए । उनले मृत पशु चौपायाहरु पनि नदीमा नै फाल्ने गर्दा नदी अत्यधिक दूषित भएको बताए ।

कर्णाली कोरिडोरको सडक बिस्तारसँगै विकासको धमिलो बाछिटा हुम्लाको पर्यावरणमा देखिन थालेको विषयमा भने स्थानीय सरकार अनविज्ञ देखिएको छ । सर्केगाड गाउँपालिकाका उपाध्यक्ष चन्द्रसिंह कार्की (मुक्ति) कर्णाली नदीमा बजारको फोहोर फाल्ने गरेको विषयमा आफू जानकार नरहेको भन्दै अब बजार अनुगमन गरेर नियन्त्रण गर्न अभियान सञ्चालन गर्ने बताउँछन् । उनले ढल निकासी नदीमा गर्नु नराम्रो भएको भन्दै आफैँले उपभोग गर्ने पानीमा ढल मिसाउनु सरासर गलत भएको बताए ।



कोरिडोर अन्तर्गत यातायात सुचारु भएका हुम्ला जिल्लामा मात्रै नभई बाजुराका विभिन्न स्थानमा भएका बजारबाट निस्किने फोहोर पनि कर्णाली नदी किनारमा फाल्ने गरिएको छ । बाजुराका पर्यटन व्यवसायी जनेश भण्डारीले कर्णाली नदी संरक्षण गर्न अभियान सञ्चालन गर्नुपर्ने बताउँदै नदीको पानी कैलाश जलको रूपमा उद्योग स्थापना गर्नुपर्नेमा जोड दिए । नदीको संरक्षण नगर्ने हो भने भविष्यमा पहाडी क्षेत्रका बासिन्दाहरूले पानी पिउन नपाउने स्थिति सिर्जना हुने बताए । उनले कर्णालीको पानी पानी उद्योगको रूपमा विकास गरी विदेशमा निर्यात गर्न सक्नुपर्ने बताए । उनले भविष्यमा मानव सभ्यता जोगाउने भूमिका कर्णालीले खेल्ने पनि बताए ।



कर्णाली कोरिडोरमा यातायात सुचारु भएसँगै हुम्ला जिल्लाको आन्तरिक उत्पादन पनि लोप हुन थालेको छ । यहाँका स्थानीयहरू आन्तरिक उत्पादनलाई प्रयोग गर्ने भन्दा पनि नेपालगन्ज, रुपडिया लगायत तराईका जिल्लाबाट आयात गरी उपभोग गर्न थालेका कारण पनि आन्तरिक उत्पादन लोप हुन थालेको हो । 

स्थानीय प्याराजंग शाहीले यातायात सुचारु हुँदा स्थानीयहरू काम गरेर खाने भन्दा पनि किनेर खानेमा निर्भर हुने गरेको बताए । हुम्लाको उत्पादनले बाहिरका बजारलाई विस्थापन गर्नुपर्नेमा बाहिरका सामग्रीहरूले स्थानीय बजार विस्थापन गरेको बताए । बाहिरको सामग्रीलाई रोक्नको लागि भण्डारण केन्द्रको आवश्यकता रहेको बताए । त्यस्तै आन्तरिक पर्यटक दीपक आचार्यले विकाससँगै विकृति पनि भित्रिरहेको महसुस गरेको बताए । उनले विकासले स्थानीय उत्पादनहरू लोप हुँदै गएको बताए । उनकाअनुसार हुम्लामा पछिल्लो समय बढ्दो सहरीकरण, स्थानीय उत्पादनमा ह्रास र परनिर्भरता बढ्दै गएको छ ।  

कुल क्षेत्रफल मध्ये ४ हजार २ सय ६७ हेक्टर खेतीयोग्य जमिन रहेको हुम्ला जिल्लामा कोदो, फापर, चिनो, कागुनो, नाफल, चुली, मकै, सिमी, उवा, जौ, मासी धान, आलु, खामु, स्याउ लगायत अन्नबाली र फलफूल उत्पादन हुँदै आए पनि सडक बिस्तारका कारण परनिर्भरता बढेको छ । यसरी खाद्य आयत निरन्तर बढ्दै गए हुम्ला जिल्ला लगायत आसपासका क्षेत्रमा खाद्य सुरक्षाको अवस्था चिन्ताजनक देखिने प्रायः निश्चित छ ।

  • प्रकाशित मिति : बैशाख ७, २०८० बिहीबार १४:१८:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया