नेपालले ५०औँ ओडिआई ओमानसँग खेल्दै, सन्दीपलाई विश्वकीर्तिमान बनाउने मौका

काठमाडौंमा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा घरेलु टोली नेपालले आज ओमानसँग खेल्दैछ । समूह ‘ए’ अन्तर्गत नेपाल र ओमानबीचको खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे सुरु हुनेछ ।  

नेपालका लागि यो ५० औँ ओडिआई खेल हो । नेपालले पहिलो ओडिआई खेल १ अगस्ट २०१८ मा घरेलु मैदानमा नेदरल्यान्ड्ससँग खेलेको थियो । 

ऐतिहासिक खेल आफ्नो पक्षमा पार्दै नेपाल लगातार दोस्रो जितको खोजीमा छ । पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । ओमान पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले अघिल्लो खेलमा कतारलाई ४० रनले हराएको थियो । 

नेपालले अभ्यास खेलमा ओमानविरुद्ध ५ विकेटको जित निकालेको थियो । शुक्रबार पनि नेपाल ओमानविरुद्ध सोही लय दोहोर्याउन चाहन्छ । 

हेड टु हेड 

एकदिवसीय मान्यता प्राप्तपछि नेपालले ओमानसँग ६ खेल खेलेको छ । जसमा नेपालले २ मा जित र ४ खेलमा हारको सामना गरेको छ । विगतमा खराब प्रदर्शन गरे पनि पछिल्लो समय भने नेपालले ओमानलाई हराइरहेको छ । अन्तिमपटक गत वर्षको जुनमा भएको खेलमा नेपालले ओमानविरुद्ध ७ विकेटको जित निकालेको थियो ।



घरेलु मैदानमा खेल्न लागेकाले यसपटक पनि नेपाललाई ओमानविरुद्ध जित हात निकाल्ने सुनौलो मौका छ । यद्यपि नेपाली भूमिमा ओमानको विगत प्रदर्शन पनि राम्रो छ । 

प्लेइङ–११ मा एक परिवर्तनको सम्भावना



ओमानविरुद्धको खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गर्ने सम्भावना छ । नेपालले आज युवा अलराउन्डर गुलशन झाको स्थानमा करण केसीलाई खेलाउन सक्छ ।  

ओमानविरुद्ध करणको प्रदर्शन उत्कृष्ट रहेको छ । उनी ओमानविरुद्ध ओडिआईमा सर्वाधिक विकेट लिने बलर हुन् । हालसम्म करणले ओमानविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रियमा ६ खेलमा ४.७८ को इकोनमीमा २० विकेट लिएका छन् । 

पहिलो खेलमा नेपालले ब्याटिङमा राम्रो प्रदर्शन गरेकाले ओमानविरुद्ध पनि ज्ञानेन्द्र मल्लले भने मौका पाउने सम्भावना कम छ । 

सन्दीपलाई विश्वकीर्तिमान बनाउने मौका

नेपाली टोलीका प्रमुख बलर सन्दीप लामिछानेलाई आज विश्वकीर्तिमान बनाउने मौका छ । यदि ओमानविरुद्ध एक विकेट मात्र हात पार्न सके उनी ओडिआईमा छिटो १ सय विकेट लिने बलर बन्नेछन् । 

हालसम्म ओडिआईमा सर्वाधिक छिटो १ सय विकेट लिने रेकर्ड अफगानिस्तानका चर्चित स्पिनर राशिद खानको नाममा छ । उनले ४४ खेलमा यो उपलब्धि हासिल गरेका थिए । सन्दीपलाई भने ४२ ओडिआई खेलमै १०० विकेट लिने मौका छ । 

  • प्रकाशित मिति : बैशाख ८, २०८० शुक्रबार ६:५२:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया