एसिसी प्रिमियर कपअन्तर्गत समूह ‘ए’ को खेलमा ओमानविरुद्ध नेपालले छैटौँ विकेट गुमाएको छ । छैटौँ विकेटको रूपमा नेपालले दीपेन्द्र सिंह ऐरीलाई गुमायो ।
उनी ३५.२ ओभरमा अयान खानको बलमा व्यक्तिगत ७ रनमा बोल्ड भए । ३१ औँ ओभरको पहिलो बलमा आरिफ शेख २९ रनमा आउट हुन पुगे । उनलाई जतिन्दर सिंहले आफ्नो पहिलो बलमै क्याच आउट गराए ।
नेपालले चौथो विकेटको रूपमा भीम सार्कीलाई व्यक्तिगत ३३ रनमा गुमायो । उनले आफ्नो पारीमा ४ चौका र १ छक्का हिर्काए । भीमलाई २०.३ ओभरमा ओमानका कप्तान जीशान मक्सूदले आउट गरे । नेपालले तेस्रो विकेटको रूपमा कप्तान रोहितकुमार पौडेललाई गुमाउन पुग्यो ।
३४ बलको सामना गरेका उनी २३ रनमा क्याच आउट भए । रोहितलाई फय्याज बटले आफ्नो ओभरको पहिलो बलमै आउट गरे । नेपालले आज दुवै ओपनिङ ब्याटर शून्यमै गुमायो । कुशल भुर्तेललाई बिलाल खान तथा आसिफ शेखलाई कलिमुल्लाहले आउट गरे ।
कुशलको आक्रामक ब्याटिङ
अनुभवी खेलाडी रन बनाउन संघर्ष गरिरहेको बेला १९ वर्षीय अलराउन्डर कुशल मल्लले भने आक्रामक ब्याटिङ गरेका छन् । छक्काको वर्षा गरिहरहेका उनले ३० बलमै अर्धशतक पूरा गरे । नेपालले ७२ रनमा ४ विकेट गुमाइसकेको अवस्थामा क्रीजमा आएका मल्लले दबाबका बाबजुद पनि उत्कृष्ट अर्धशतक बनाए ।
एकदिवसीय अन्तर्राष्ट्रियमा कुशलको यो पाँचौँ अर्धशतक हो । यो समाचार तयार पार्दासम्म उनले ५७ बलमा ९ छक्का र ९ चौकासहित ९४ रन बनाएका छन् । हालसम्म शतक बनाउन नसकेका कुशललाई आज त्यो उपलब्धि हासिल गर्ने मौका छ ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३८ ओभरमा ६ विकेट गुमाएर १ सय ९६ रन बनाएको छ । नेपालले आज प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । ओमानविरुद्ध नेपालले गुलशन झालाई विश्राम दिएर करण केसीलाई मौका दिएको हो ।
नेपालका लागि यो ५० औँ ओडिआई खेल हो । नेपालले पहिलो ओडिआई खेल १ अगस्ट २०१८ मा घरेलु मैदानमा नेदरल्याण्ड्ससँग खेलेको थियो । महत्वपूर्ण खेल आफ्नो पक्षमा पार्दै नेपाल लगातार दोस्रो जितको खोजीमा छ ।
पहिलो खेलमा नेपालले मलेसियालाई ६ विकेटले हराएको थियो । ओमान पनि लगातार दोस्रो जित निकाल्न चाहन्छ । उसले अघिल्लो खेलमा कतारलाई ४० रनले हराएको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।