काठमाडौंमा जारी एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगितामा नेपालले साउदी अरेयिबासँग खेल्दैछ ।
यी दुई टोलीबीचको खेल बिहान ९ बजेदेखि मूलपानी मैदानमा सुरु हुने तालिका छ । यद्यपि आजको खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । काठमाडौंमा आइतबार रातिदेखि हल्का वर्षा भइरहेको छ ।
आज बिहान पनि सामान्य वर्षा भएको छ । बिहान ७ बजेसम्म काठमाडौंको आकाश खुलेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि वर्षाको सम्भावना छ ।
मौसमले साथ दिएमा नेपाल सोमबार साउदी अरेबियाविरुद्ध सहज जित निकाल्दै एक खेल अगावै सेमिफाइनलको यात्रा गर्न चाहन्छ । नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले हराउँदै उत्कृष्ट सुरुवात गरेको थियो ।
दोस्रो खेलमा ओमानलाई ८४ रनले हराएको नेपाल अहिले समूह ‘ए’ को शीर्ष स्थानमा छ । चौथो स्थानमा रहेको साउदीले २ खेलमा १ मा जित र १ खेलमा हारको सामना गरेको छ ।
ऊ पहिलो खेलमा कतारसँग ८ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा भने उसले कतारलाई ७ विकेटले हराउँदै उत्कृष्ट कमब्याक गर्यो ।
जारी प्रतियोगिताको समूह समूह ‘ए’ मा नेपाल, ओमान, साउदी अरेबिया, मलेसिया र कतार तथा समूह ‘बी’ मा यूएई, सिंगापुरसहित हङकङ, कुवेत र बहराइन रहेका छन् ।
दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । प्रिमियर कप च्याम्पियन टिमले आउँदो एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।