चितवन-२ को मतगणनाका लागि सर्वदलीय बैठक बस्दै

चितवन क्षेत्र नम्बर २ मा आइतबार सम्पन्न उपनिर्वाचनको मतगणनाका लागि बिहान सर्वदलीय बैठक बस्दैछ । बिहान ८ बजे बस्ने बैठकमा उम्मेदवार वा उम्मेदवारको दुई प्रतिनिधिलाई बोलाइएको हो ।   

गएराति मतपेटिका मतगणनास्थलमा आइसकेपछि सर्वदलीय बैठक बस्ने भनिएको थियो । आज बिहानलाई सर्वदलीय बैठक बोलाइएको मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक निर्वाचन अधिकृत ईश्वर आचार्यले जानकारी दिए ।   

नेपाली कांग्रेस र नेकपा (एमाले) सहितका दलहरूले भने आइतबार राति प्रमुख जिल्ला अधिकारी उपस्थित नभएका कारण बैठक बस्न नसकेको बताएका छन् । बैठकपछि मात्रै मतगणना प्रक्रिया सुरु हुने जनाइएको छ ।

कांग्रेस चितवनका सभापति राजेश्वर खनालले प्रमुख जिल्ला अधिकारीकै संरक्षणमा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारले आचारसंहिता उल्लङ्घन गरेको आरोप लगाउँदै जवाफ नआएसम्म मतगणना नहुने बताएका छन् । यस क्षेत्रमा ४३ स्थलका एक सय ३८ केन्द्रमा मतदान गरिएको हो । यसमा ७८ हजार २ सय ७७ मतदाताले मतदान गरेको प्रारम्भिक तथ्यांक रहेको छ ।  

यस क्षेत्रमा १ लाख २४ हजार ६ सय ९५ जना मतदाता रहेका थिए । जसमध्ये ६३ हजार २ सय ९१ महिला, ६१ हजार ४ सय तीन पुरुष र एक जना तेस्रो लिङ्गी रहेका छन् ।

यस क्षेत्रमा लोकतान्त्रिक वाम गठबन्धनबाट कांग्रेसका जीतनारायण श्रेष्ठ, एमालेबाट रामप्रसाद न्यौपाने र राष्ट्रिय स्वतन्त्र पार्टीबाट रवि लामिछानेसँगै २२ उम्मेदवार चुनावी मैदानमा छन् ।



गत ४ मंसिरमा सम्पन्न निर्वाचनबाट निर्वाचित लामिछानेको नागरिकताका कारण सर्वोच्च अदालतले बदर गरेपछि उपनिर्वाचन भएको हो ।  



  • प्रकाशित मिति : बैशाख ११, २०८० साेमबार ७:३१:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया