चितवन क्षेत्र नम्बर २ मा भएको प्रतिनिधिसभा सदस्य उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने जित्ने निश्चित भएको छ ।
गणना हुन बाँकी मतभन्दा बढीको अग्रता पाएपछि चितवन–२ मा लामिछानेको जित निश्चित भएको हो । साढे ५६ हजार मत गणना हुँदा उनले ४० हजार ६९ मत प्राप्त गरेका छन् ।
लामिछानेका निकटतम् नेपाली कांग्रेसका जीतनारायण श्रेष्ठले ७ हजार ४ सय ५६ मत पाएका छन् । लामिछाने–श्रेष्ठबीचको मतान्तर ३२ हजारभन्दा बढी छ ।
योसँगै लामिछाने ६ महिनाको अन्तरमा चितवन–२ बाट दोस्रोपटक प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदैछन् । गत ४ मंसिरको निर्वाचनमा उनी यही क्षेत्रबाट भारी मतान्तरले विजयी भएका थिए ।
त्यो बेला लामिछानेले नेपाली कांग्रेसका उम्मेदवार उमेश श्रेष्ठलाई ३४ हजार १६२ मतान्तरले पराजित गरेका थिए । लामिछानेले ४९ हजार २६१ मत प्राप्त गर्दा श्रेष्ठले १५ हजार ९९ मत ल्याएका थिए ।
तेस्रो भएका एमालेका कृष्णभक्त पोखरेल १४ हजार ६४९ मत ल्याएका थिए । भारी मतान्तरका साथ विजयी भए पनि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा दोषी देखिएपछि सांसद पद खारेजीमा परेका कारण चितवन–२ मा पुनः निर्वाचन गरिएको हो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।