उपनिर्वाचन : तीनवटै क्षेत्रको अन्तिम मतपरिणाम सार्वजनिक

प्रतिनिधिसभा सदस्यका लागि गत आइतबार तीन जिल्लामा भएको उपनिर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ । गएराति बारा–२ बाट जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव विजयी भएसँगै तीन जिल्लाको अन्तिम मतपरिणाम सार्वजनिक भएको हो । 

पाँच दलीय गठबन्धनका साझा उम्मेदवार यादव ५ हजार ८१ मतान्तरका साथ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भए । उनले २८ हजार ४१५ मत ल्याउँदा निकटतम् प्रतिस्पर्धी जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले २३ हजार ३३४ मत प्राप्त गरे ।  

तेस्रो भएका नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले १० हजार २१६ मत ल्याए । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रमेश खरेलले २ हजार ८२९ र आमजनता पार्टीका उम्मेदवार अरुण ज्ञवालीले २ हजार ७३८ मत प्राप्त गरेका निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

गत ४ मंसिर को चुनावमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसँग दोब्बर बढी मतले पराजित जसपा अध्यक्ष यादव उपचुनावबाट संसदमा प्रवेश गरेका छन् । बारा–२ बाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि खाली भएको यो क्षेत्रमा उपनिर्वाचन भएको हो । 

त्यस्तै, उपनिर्वाचन भएका अन्य दुई क्षेत्रबाट भने रास्वपाका उम्मेदवार निर्वाचित भए । चितवन क्षेत्र नम्बर २ बाट रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट रास्वपाकै डा. स्वर्णिम वाग्ले निर्वाचित भएका हुन् । लामिछाने–वाग्लेले कांग्रेस उम्मेदवारलाई हराउँदै प्रतिनिधिसभा सदस्यमा विजयी भए । 

तनहुँ–१ बाट निर्वाचित वाग्लेले ३४ हजार ९१९ मत प्राप्त गरे । उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका गोविन्द भट्टराई २ हजार १२२ मतमा सीमित भए । यस्तै, तेस्रो भएका नेकपा एमालेका सवेन्द्र खनालले ८ हजार ४८८ मत मात्र प्राप्त गरे । 



४ मंसिरको निर्वाचनमा विजयी भएका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपतिमा विजयी भएपछि तनहुँ–१ मा उपनिर्वाचन भएको हो । 

यस्तै, चितवन–२ बाट विजयी भएका रास्वपा सभापति लामिछानेले ५४ हजार १७६ मत प्राप्त गरे । उनले अघिल्लो निर्वाचनभन्दा बढी मत प्राप्त गरेका हुन् । मंसिरको चुनावमा उनी ४९ हजार २ सय ६४ मतका साथ निर्वाचित भएका थिए ।



यसपटक लामिछानेले अघिल्लो चुनावभन्दा ४ हजार ९ सय १२ मत बढाए । यस्तै, चितवन–२ को उपनिर्वाचनमा दोस्रो भएका कांग्रेसका जीतनारायण श्रेष्ठले ११ हजार २१४ मत ल्याए । तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत मात्र प्राप्त गरे ।  

  • प्रकाशित मिति : बैशाख १३, २०८० बुधबार ६:३३:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया