भानुभक्त क्याम्पसलाई दोस्रोपटक ‘क्युएए’ प्राप्त

तनहुँको व्यास नगरपालिका–१ भादगाउँस्थित आदिकवि भानुभक्त क्याम्पसले दोस्रोपटक गुणस्तर सुनिश्चितता प्रत्यायन (क्युएए) प्राप्त गरेको छ । 

त्रिभुवन विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्रदान गर्ने निर्णय गरेको हो । आयोगको गुणस्तर सुनिश्चितता तथा प्रत्यायन (क्युएए) प्रक्रियामा सहभागी भई सबै चरण पार गरेपश्चात् क्याम्पसले क्युएए प्राप्त गरेको क्याम्पस प्रमुख महाप्रसाद हड्खलेले बताए ।

क्याम्पसले यसअघि ६ वर्ष अगाडि पनि क्युएए प्राप्त गरेको थियो । ‘क्याम्पसलाई क्युएए प्रदान गर्ने आयोगको निर्णयले हामीलाई खुसी तुल्याएको छ,’ उनले भने । 

क्याम्पसमा अध्ययन गर्न विद्यार्थीको आकर्षण बढेसँगै यो क्याम्पस जिल्लाकै शैक्षिक हबको रूपमा विकास हुँदै गइरहेको छ । व्यास नगरपालिका, ऋषिङ, म्याग्दे , बन्दीपुर गाउँपालिकाका अतिरिक्त छिमेकी जिल्लाबाट पनि यहाँ पठनपाठनका लागि आउने गरेका छन् । 

वि.सं २०४३ मा समुदायको सक्रियतामा क्याम्पस स्थापना भएको थियो । तत्कालीन बेला यस ठाउँमा निर्मल माध्यमिक विद्यालय मात्रै थियो । आफ्नै ठाउँमा क्याम्पस नहुँदा अन्यत्र गएर उच्च शिक्षा अध्ययन गर्नुपर्ने वाध्यता भएपछि स्थानीयवासीले क्याम्पस स्थापना गरेका थिए । क्याम्पस सञ्चालनको सुरुआतमा भवन नहुँदा लायन्स क्लबको ५० हजार अमेरिकी डलरको सहयोगमा भवन निर्माण गरिएको थियो ।  

क्याम्पसमा व्यवस्थापन विषयमा कक्षा ११/१२, स्नातक तहमा बिबिएस र बिबिए र स्नातकोत्तर तहमा एमबिएस पढाइ हुँदै आइरहेको छ । हाल क्याम्पसमा करिब तीन हजार एक सय विद्यार्थी अध्ययनरत छन् । त्यसमध्ये ९० प्रतिशत विद्यार्थी ग्रामीण भेगका छन् भने १८ प्रतिशत विद्यार्थी दलित र ७० प्रतिशत विद्यार्थी विपन्न वर्गका छन् । क्याम्पसमा अध्ययनरत ८० प्रतिशत विद्यार्थी छात्रा रहेको क्याम्पसले जनाएको छ ।



कक्षा ११ देखि स्नातकोत्तरसम्मको अध्ययनमा दलित, छात्रा र विपन्नलाई सहुलियत दिँदै आइएको छ । त्यस्तै सहिद परिवार र अपाङ्गता भएकालाई ७५ प्रतिशत छुटको व्यवस्था गरिएको छ । ३० छात्रालाई छात्रावासमै बसेर अध्ययन गर्ने व्यवस्था मिलाइएको छ । 

क्याम्पसले नर्सिङ, इन्जिनियरिङको पठनपाठन सुरु गर्ने लक्ष्य लिएको छ । त्यसका लागि भवन र थप जनशक्ति आवश्यक पर्ने क्याम्पस प्रमुख हड्खलेले बताए । क्याम्पसको शैक्षिक विकासका लागि २० बर्से गुरुयोजना बनाइएको छ । क्याम्पसलाई मानक विश्वविद्यालयमा रूपान्तरण गर्ने लक्ष्य राखिएको छ ।  



  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार ९:४०:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया