चार बुँदे माग राखेर माइतीघरमा धर्ना बस्ने महावीर पुनको घोषणा

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनले विभिन्न चार माग राखेर माइतीघरमा धर्ना बस्ने घोषणा गरेका छन् । शुक्रबार बिहान ९ बजेदेखि माइतीघरमा भेला भएर बानेश्वरसम्म जुलुस निकाल्ने र त्यसपछि धर्ना सुरु गर्ने पुनले घोषणा गरेका हुन् ।   

उनले धर्नामा साथ दिन आमसर्वसाधारणसँग आग्रहसमेत गरेका छन् । बिहीबार सामाजिक सञ्जालमा एउटा भिडियो पोस्ट गर्दै पुनले माग पूरा नभएसम्म माइतीघर मण्डला र बबरमहल क्षेत्रबाट सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्ने बताएका छन् । 

‘वैशाख १५ गते शुक्रबारदेखि माग पूरा नहुँदासम्म माइतीघर मण्डला र बबरमहल क्षेत्र बाट नेपाल सरकारलाई घुँडा टेकाउने गरी आन्दोलन गर्न सम्पूर्ण नेपालीहरूलाई आह्वान गर्दछु,’ उनले भनेका छन् ।

पुनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सिर्जनशील नेपालीलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष  संघ र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुटयाउनु पर्ने र त्यो रकम नवप्रवर्तक र आविष्कार कोषमा राख्नुपर्ने माग गरेका छन् ।

यस्ता छन् पुनका माग :

१.अनुसन्धान, नवपवर्तन र आविष्कार गर्ने प्रतिभाशाली र सृजनशील नेपालीहरूलाई अनुसन्धान गर्ने काममा ठोस सहयोग गर्न हरेक वर्ष संघीय र प्रदेश सरकारले आफ्नो विकास बजेटको १ प्रतिशत रकम छुट्याइयोस् र "अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष" मा राखियोस् । सो कोषबाट नेपालका सम्पूर्ण प्रतिभाशाली सन्ततिहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गरियोस् । सो कोषमा जम्मा भएको रकम सोहि वर्ष खर्च नभएमा आगामी वर्षहरूमा पनि खर्च गर्न पाउने व्यवस्था गरियोस्। 



२. सो कोषको रकम सहज तरिकाले समयमा नै प्रतिभाशाली र नविनतम सोच भएका नेपालीहरूलाई उपलब्ध गराउन संसदले नेपाल सरकारको सार्वजनिक खरिद ऐन भन्दा छुट्टै "अनुसन्धान, नबप्रबर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन" बनाइयोस् र आवश्यकता अनुसार अनुसन्धानको कामलाई बहुवर्षीय कार्यक्रममा राख्न मिल्ने गरी नीति नियम बनाइयोस् ।

३. अनुसन्धान, नवप्रवर्तन र आविष्कार गरेर बनेका र सफलतापूर्वक परीक्षण गरिएका चिजहरूलाई उत्पादन गरी नब-उद्यमी बन्न चाहने नेपालीहरूलाई उद्यम सुरु गर्नको लागि चाहिने अनुमति, लाइसेन्स, अनुदान र सहज ऋण उपलब्ध गराइयोस् र स्वदेशी उत्पादनलाइ बजारिकरण गर्न ठोस सहयोग गर्ने नीति नियम बनाइयोस् । सो कामलाई सहज बनाउन र आवश्यक अनुसारको नीति नियम बनाउनको लागि "नव उद्यमी प्रवर्धन समिति" बनाइयोस् र सो समितिले सरकारलाई आवश्यक कदम चाल्न अनुरोध गर्ने व्यवस्‍था गरियोस् ।



४. प्राइभेट अनुसन्धान केन्द्र, मुनाफा वितरण नगर्ने अनुसन्धान केन्द्र र विश्वविद्यालयमा व्यवहारिक अनुसन्धानलाई उच्च प्राथमिकताका साथ प्रोत्साहन गर्न र प्रवर्द्धन गर्नको लागि विज्ञान मन्त्रालयअन्तर्गत "व्यावहारिक अनुसन्धान र नवपवर्तन विभाग" खोलियोस् । सो विभागलाई देशका प्रतिभाहरूलाई विदेश पलायन हुन नदिन र विदेश पलायन भइसकेका प्रतिभालाई के कसरी र कुन रुपमा हुन्छ स्वदेशमा फिर्ता ल्याउन र उनीहरूबाट फाइदा लिनको लागि चाल्नुपर्ने ठोस वातावरण तयार गर्ने पूर्ण अधिकारसहित जिम्मा दिइयोस् ।

  • प्रकाशित मिति : बैशाख १४, २०८० बिहीबार १३:३:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया