logo-img

पाँच वर्ष आविष्कार केन्द्र खोलेर काम गरेँ, तर सरकारले देखेन : महावीर पुन

राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनको नेतृत्वमा अनुसन्धान, नवप्रवर्तन र आविष्कारप्रति सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु भएको छ । शुक्रबारदेखि काठमाडौंको माइतीघर मण्डलामा विभिन्न मागसहित अनिश्चितकालका लागि आन्दोलन सुरु भएको हो । पुनले सरकारले प्रतिभा भएका र अनुसन्धान तथा आविष्कार गर्न सक्नेहरूको लागि केही नगरेकाले दबाब स्वरूप आन्दोलन गर्नु परेको बताए ।

‘नेपालका प्रतिभा भएका विद्यार्थी तथा भावी सन्ततिहरूको लागि आन्दोलन गर्नुपरेको हो । नेपाल अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा धेरै पछाडि परेका छौँ । यो विषयमा जनस्तरमा सचेतना जोगाउनको लागि आन्दोलन गर्नुपरेको हो । हामीले नयाँ विषयहरूको आविष्कार गर्ने, नयाँ प्रवर्द्धन गर्ने काम गरिएन भने मुलुकको अर्थतन्त्रलाई सुधार गर्न सक्दैनौँ,’ पुनले भने, ‘अर्थतन्त्र सुधार भएन भने नेपाली युवाहरू विदेश जानुपर्ने हुन्छ । अर्थतन्त्र सुधारको लागि मुलजरा भनेको अनुसन्धान, आविष्कार र नवप्रवर्तन हो । यो नेपालमा मात्रै नभएर विश्वका देशहरूले गर्ने काम यही हो ।’ 

उनले यो क्षेत्रको विकासको लागि १० वर्षसम्म पटकपटक मन्त्री र नेताहरूसँग भेट्दासमेत केही गर्न नसकिएको बताए । पुनले पछिल्लो ५ वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गर्दासमेत सरकारले बेवास्ता गरेको गुनासोसमत गरे ।  

‘जुन देशले अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा खर्च गरेको छ । त्यो देश विकासशील भएको छ । गर्न नसक्ने देशको विकास हुँदैन । नेपालमा सरकारले त्यो विषयमा प्राथमिकता नदिएको हुनाले अर्थतन्त्र सुधार नहुँदा दुःख पाउनुपरेको छ । अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने युवाहरूका लागि सरकारले अहिलेसम्म केही गर्न नसकेकोले अब सरकारले नेपालमा नै प्रतिभा भएका युवाहरूलाई अनुसन्धान, नवप्रवर्तन र आविष्कारका क्षेत्रमा काम गर्ने वातावरण बनाउनु आवश्यक छ,’ पुनले भने, ‘मैले १० वर्षसम्म कुरेर बसेको थिए । सन् २०१२ देखि २०१७ सम्म सरकारका सबै मन्त्रालयहरूमा पुगे, सबै मन्त्री र नेताहरूसँग भेट गरे । तर, केही नलागेर छाडी दिए । पछिल्लो पाँच वर्ष राष्ट्रिय आविष्कार केन्द्र खोलेर काम गरियो । तर, पनि सरकारले देखेन । राष्ट्रिय आविष्कार केन्द्रहरू धेरै खोल्नुपर्छ ।’

उनले आन्दोलनमा  अनुसन्धान, नवप्रवर्तन र आविष्कार कोष खडा गर्न, अनुसन्धान र नवप्रवर्तनको लागि हरेक वर्ष विकास बजेटको १ प्रतिशत रकम छुट्याउन माग गरे । पुनले प्रतिभाशाली सन्ततीहरूलाई आवश्यक अनुसन्धान, नवप्रवर्तन र आविष्कार गर्न सहयोग गर्नुपर्ने बताए । उनले अनुसन्धान, नवप्रवर्तन र आविष्कार प्रवर्द्धन, सञ्चालन तथा खरिद ऐन बनाउन पनि आग्रह गरे ।   

पुनले पुरानो गाडीलाई विद्युतीय गाडी बनाउने र चलाउने अनुमति दिनसमेत माग गरेका छन् । 





  • प्रकाशित मिति : वैशाख १५, २०८० शुक्रबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया