संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिएरसँगै लैजानुपर्ने बताएका छन् ।
शुक्रबार नेपाल पर्यटन बोर्ड तथा होटल व्यवसायी महासंघ नेपालद्वारा संयुक्त रुपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले जनताले सबैभन्दा धेरै विश्वास गरेर लामिछानेलाई सबैभन्दा बढी मतले विजयी गराएको बताए । उनले जनताको विश्वासमाथि सम्मान गर्नुपर्ने बताए ।
उनले जनताले ठूला राजनीतिक दलहरुलाई सच्चिन आग्रह गरेको र सबै मिलेर जान सुझाव दिएको बताए । उनले नेपालीहरु कोही पनि एक अर्काको शत्रु नभएको भन्दै एकले अर्कोलाई गालीगलौज गरेर अघि नपुगिने बताए । उनले सबै राजनीतिक दल र नेताहरू गरिबीको बिरुद्धमा एकजुट हुनुपर्ने बताए । उनले देश आर्थिक संकटमा रहेकाले सबै पार्टी प्रतिपक्षमा नबस्न आग्रह गरे ।
‘जनताले भनेका छन्, तिमीहरुले होस पुर्याएनौँ भने दिन आउँदैछ, अझै आउँदैछ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरित पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको बिरुद्धमा एकजुट होऔँ । र जो अत्याधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ,’ उनले भने, ‘सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक संकटमा छ, एउटै डुंगामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झण्डा रहन्छ, देशै नरहे के रहन्छ ? तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झण्डा लिएर जन्मिएको जस्तो ।’
मन्त्री किरातीले नेपाल वायुसेवा निगम खाने स्वयं मन्त्रीहरू नै रहेको आरोप लगाउनु भयो । उहाँले वायुसेवा निगम खाने खुम्लेकीरा मन्त्रीहरु स्वयं रहेको बताउनु भयो । उहाँले मन्त्रीहरूले मन्त्रीहरूले हरेक दिन आफू मन्त्रालयमा आएपछि करोडौँ रूपैयाँ खाने गरेको बताउनु भयो । उहाँले भगवानहरु पनि आफ्नो स्थानमा बस्ने भएकाले मानिसहरु आफ्नो विज्ञतामा बस्नुपर्ने बताउनु भयो । उहाँले अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्रायः रहेको दाबी गर्नुभयो ।
उनले भने, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एकदिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहीँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अंगहरु मृत्युप्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’
मन्त्री किरातीले देशका कानून संशोधन गरी अघि बढ्नुपर्ने बताए । उनले एउटा व्यवसाय दर्ता गराउन सात वटा मन्त्रालय, २२ वटा विभाग र २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्ने अवस्था रहेको बताए ।
उनले भने, ‘हामीले आवश्यक कानून सच्याउनुपर्छ । हिमालमा गएर प्याराग्लाइडिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमालमा स्काइ ड्राइभिङ गर्ने व्यवस्था हुनुपर्छ । हिमाल चढ्ने होइन, हिमाल भगवान हो, परबाट ढोग्ने हो, भन्ने मानसिकताले बनाएको कानून हो, समयअनुसार चल्नुपर्छ । तपाईले एउटा व्यवसाय दर्ता गराउन जानुस्, सात वटा मन्त्रालय धाउनुपर्छ । २२ वटा विभाग धाउनुपर्छ । २ सय बढी टेबललाई पैसा गनेर हिँड्नुपर्छ भने व्यवसायी के हुन्छन् ? पर्यटनको क्षेत्रमा कानुन बनाउँदा तपाईहरुको साथ चाहिन्छ । हाम्रो रगतमा भ्रष्टाचार छ, जतिसुकै भन्नुस् ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।