\
राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले सांसदहरुले काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका छन् ।
शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निमित्त सरकार गम्भीर नभएको भन्दै आन्दोलन सुरु गरेका उनले नेताहरुले नीति निर्माणको काम नगरे ढ्याङ्ग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् ।
उनले सांसदहरुले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानून बनाउन समय नमिल्ने हो ? भन्ने प्रश्न गर्दै सांसदहरुले कानून बनाएर देश विकासमा लाग्नुको विकल्प नरहेको बताए । उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग नभएको भन्दै उनले आफ्ना माग पूरा नभएसम्म धर्ना जारी रहने बताए ।
उनले सबै नेताहरु आफ्नो भाषण सुन्न धर्नास्थल पुग्नुपर्ने र त्यो नसके संसदमा आफूलाई बोल्ने व्यवस्था गरिदिन आग्रह गरे । उनले नेताहरूले बोलेर मात्रै नहुने भन्दै बोलेर कदम चाल्ने नेताको खाँचो रहेको बताए ।
उनले भने, ‘अनुसन्धान आविष्कार नवप्रवर्द्धन गर्ने विभाग खोई ? हाम्रो माग पूरा नभएसम्म हामी धर्ना बस्छौँ । यो अनुरोध सबै पार्टीलाई हो । अरु पार्टी पनि आएर मेरो भाषण सुनुन् । की मलाई संसदमा गएर बोल्ने व्यवस्था गरिदिउन् । यो नेपालीको दर्द हो, संसदमा केहीले बोले रे आज पनि बोल्ने रे भन्ने मान्छे आएका छन्, बोलेर मात्रै केही हुँदैन, बोलेर हुने भए सबै भइसक्थे, बोलेर कदम चाल्ने नेताज्युहरु चाहियो । यो सांसदको जिम्मा हो । सांसदलाई भाषण गर्न, उद्घाटन गर्न, माला लगाउन समय मिल्ने, तर नभइ नहुने ऐन,कानून बनाउन समय नमिल्ने, हामीले त बनाउन पाइँदैन, सडकबाट त ऐन बन्दैन । सांसदलाई काम गरेनन् भने ढ्याङ्ग्रो ठोक्दै लखेट्नुपर्छ ।’
पुनले आफ्नो आन्दोलन सबै सानातिना आन्दोलनहरू पूरा गर्नको लागि अर्थतन्त्र सुधार्ने जन आन्दोलन भएको बताए । उनले आफूले यो आन्दोलन मनलाग्दी रुपमा नल्याएको र निचोडमा पुगेरै छोड्ने प्रतिवद्धता जनाएको बताए । उनले संसारमा नवप्रवर्द्धन र आविष्कारको क्षेत्रमा लगानी नगरी अर्थतन्त्र चलायमान बन्न नसक्ने बताए ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।