रास्वपाले बोलायो केन्द्रीय समिति र संसदीय दलको बैठक, सरकारबारे निर्णय लिने
फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय कार्यसमिति र संसदीय दलको बैठक बोलाएको छ । उपसभापति डोलप्रसाद अर्यालका अनुसार भोलि (सोमबार) बिहान ११ बजे केन्द्रीय समिति र दिउँसो ३ बजे संसदीय दलको बैठक बोलाइएको हो ।

सोमबारको बैठकमा संसदीय दलको नेता चयनका साथै पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल हुने बताइएको छ । उपसभापति अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएपछि रास्वपामा अहिले उक्त पद रिक्त छ ।

१० वैशाखमा भएको उपनविर्वाचनमा चितवन–२ बाट पार्टी सभापति रवि लामिछाने निर्वाचित भएपछि अर्यालले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । रवि फेरि संसदीय दलको नेता बन्ने तयारीमा छन् ।

केन्द्रीय कार्य समिति र संसदीय दलको बैठकबारे रास्वपाले शनिबार जुम मिटिङमार्फत् जानकारी गराएको थियो । सोमबारको बैठकमा सरकारलाई दिएको समर्थनको विषयमा पनि छलफल हुनेछ । शुक्रबार सांसद पदको शपथ ग्रहणलगत्तै रास्वपा सभापति लामिछानेले सरकारलाई दिएको समर्थनको विषयमा संसदीय दल र केन्द्रीय समितिको बैठकमा गम्भीर समीक्षा गर्ने बताएका थिए । 

सरकारले न्यूनतम् साझा कार्यक्रम परिवर्तन गरेपछि रास्वपा तत्काल सरकारमा सहभागी हुने सम्भावना कम छ । लामिछानेले शुक्रबार मात्र सरकारमा जानेभन्दा पनि समर्थन फिर्ता लिने सम्भावना बढी रहेको पनि बताएका थिए ।  

‘सरकारले न्यूनतम् साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ । मतदाताले केही थान मान्छेलाई संसदमा पठाएको होइन । एजेन्डासहित पठाएको हो । अझ निर्मम हुनुपर्ने विषयलाई भएको कुरालाई पनि हटाएकोमा हाम्रो गम्भीर आपत्ति छ । त्यसैले यसमा गम्भीर समीक्षा गरेर मात्र अगाडि बढ्छौँ,’ लामिछानेले भनेका थिए ।



प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भने रास्वपालाई पनि सरकारमा सहभागी गराउने पक्षमा छन् ।  



  • प्रकाशित मिति : बैशाख १७, २०८० आइतबार ८:५१:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया