एसिसी प्रिमियर कप
यूएईलाई हराउँदै एसिया कपको टिकट काट्ने सोचमा नेपाल

काठमाडौंमा जारी एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा आयोजक नेपालले आज यूएईको सामना गर्दैछ । नेपाल र यूएईबीचको फाइनल प्रतिस्पर्धा बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुनेछ । 

यद्यपि आज पनि खेलमा वर्षा बाधक बन्ने सम्भावना छ । सोमबार बिहान काठमाडौंको मौसम खुलेको छैन । आकाश पनि धुम्म परेको छ । जारी प्रतियोगिताको सेमिफाइनलमा पनि वर्षा बाधक बनेको थियो । 

सेमिफाइनलमा नेपालले कुवेत तथा यूएईले ओमानसँग खेले । पानी नरोकिएपछि नेपाल र कुवेतबीचको खेल रद्द हुँदा यूएईले ओमानलाई डकवर्थ लुइस प्रणालीको आधारमा २ रनले हराएको थियो । कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भए पनि नेपाल समूह विजेताको रूपमा फाइनल प्रवेश गर्‍याे ।   

जारी प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको चारमध्ये ३ मा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो । नेपाल फाइनलमा पनि घरेलु मैदान र उच्च लयको फाइदा उठाउँदै यूएईलाई हराउन चाहन्छ । यूएईले समूह चरणमा चारमध्ये ३ मा जित र एक खेलमा हार बेहोरेको थियो । ऊ घरेलु टोली नेपाललाई स्तब्ध पार्दै एसिया कपको यात्रा गर्ने सोचमा छ ।  

हेड टु हेडमा नेपाल अगाडि 

यूएईविरुद्धको हेड टु हेड नतिजा हेर्दा पनि नेपाल अगाडि देखिन्छ । अहिलेसम्म यी दुई टिमले एकअर्काविरुद्ध १३ ओडिआई म्याच खेलेका छन् । जसमा नेपालले ७ र यूएईले ६ खेल जितेका छन् । यी दुई टोलीले पहिलोपटक ३० अगस्ट २०१८ मा एकअर्काविरुद्ध एकदिवसीय खेलेका थिए । उक्त खेलमा यूएईसँग नेपाल ७८ रनले पराजित भएको थियो । 



यूएई र नेपालले अन्तिमपटक अघिल्लो महिना त्रिवि मैदानमा खेलेका थिए । उक्त खेलमा डकवर्थ लुइस प्रणालीको आधारमा नेपाल ९ रनले विजयी भयो ।  



प्लेइङ–११ मा परिवर्तनको सम्भावना कम 

फाइनल खेलमा नेपालले प्लेइङ–११ मा परिवर्तन गर्ने सम्भावना कम छ । सबै खेलाडीले सन्तोषजनक प्रदर्शन नै गरिरहेकाले फाइनलमा नेपालको प्लेइङ–११ मा परिवर्तन देख्न पाइने सम्भावना कम रहेको हो । विशेषगरी जारी प्रतियोगितामा कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने र रोहित पौडेलले राम्रो प्रदर्शन गरिरहेका छन् ।

खेल रद्द भए नेपाल छनोट 

सेमिफाइनलजस्तै एसिसी प्रिमियर कपको फाइनलमा पनि वर्षा बाधक बन्ने देखिन्छ । मौसमपूर्वानुमान महाशाकाअनुसार आज पनि वर्षाको सम्भावना छ । यदि सोमबार मौसम बाधक बने फाइनल मंगलबार खेलिनेछ । 

मंगलबार पनि मौसमले साथ नदिएमा खेलको नतिजा दुई सुपर ओभरबाट निकालिनेछ । पहिलो सुपर ओभर बराबरीमा सकिएमा दोस्रो सुपर ओभर खेलाइनेछ । सुपर ओभरमा पनि मौसम अनुकूल नभएमा आइसिसीको ओडिआई वरियतामा माथि रहेको टिमले एसिया कपमा स्थान बनाउनेछ । 

हाल आइसिसी ओडिआई वरियतामा नेपाल १४ औँ र यूएई १९ औँ स्थानमा छ । यस्तो अवस्थामा नेपालले एसिया कपको यात्रा गर्नेछ ।  

  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार ६:५०:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया