एसिसी कप फाइनलमा वर्षा बाधकको सम्भावना, खेल रद्द भए नेपाल एसिया कपमा छनोट

एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा नेपालले आज यूएईविरुद्ध खेल्दैछ । यी दुई टोलीबीचको फाइनल भिडन्त बिहान ९ बजेदेखि कीर्तिपुरस्थित त्रिवि मैदानमा सुरु हुने तालिका छ । यद्यपि फाइनलमा पनि मौसमले भने साथ दिने सम्भावना कम छ ।  

काठमाडौं उपत्यकामा आज बिहानैदेखि बादल लागेको छ । मौसमविद्का अनुसार बिहान ११ बजेपछि मेघगर्जनसहित वर्षा हुने सम्भावना छ । ‘काठमाडौंको मौसम बिहानैदेखि बदली भइरहेको छ । बिहान ११ बजेपछि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्छ’, मौसमविद् गोविन्दकुमार झाले भने ।

वर्षाको कारण आज फाइनल खेल रोकिए भोलि हुनेछ । खेल जहाँबाट रोकिएको हो मंगलबार त्यहीबाट सुरुवात गर्नुपर्नेछ ।

डकवर्थ लुइस पद्धतिको आधारमा नतिजा निकाल्न दोस्रो ब्याटिङ गर्ने टोलीले २० ओभर खेलेको हुनुपर्छ । मंगलबार पनि खेल हुन नसके नतिजा सुपर ओभरबाट निकाल्ने प्रयास हुनेछ ।

सुपर ओभर पनि हुन नसके नेपाल एकदिवसीय वरियताको फाइदा उठाउँदै एसिया कपको यात्रा गर्नेछ । हाल नेपाल आइसिसी ओडिआई वरियतामा १४ औँ र यूएई १९ औँ स्थानमा छ । 



एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ । 

एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् । जारी प्रतियोगिताको सेमिफाइनलमा पनि वर्षा बाधक बनेको थियो । सेमिफाइनलमा नेपालले कुवेत तथा यूएईले ओमानसँग खेलेका थिए ।



पानी नरोकिएपछि नेपाल र कुवेतबीचको खेल रद्द हुँदा यूएईले ओमानलाई डकवर्थ लुइस प्रणालीको आधारमा २ रनले हराएको थियो । ​कुवेतविरुद्धको सेमिफाइनल खेल रद्द भए पनि नेपालले समूह विजेताको रूपमा फाइनलको यात्रा गर्‍यो ।

जारी प्रतियोगितामा अपराजित रहेको नेपालले समूह चरणको चारमध्ये ३ मा जित र एक खेलमा वर्षाका कारण अंक बाँडेको थियो । नेपाल फाइनलमा पनि घरेलु मैदान र उच्च लयको फाइदा उठाउँदै यूएईलाई हराउन चाहन्छ ।

यूएईले समूह चरणमा चारमध्ये ३ मा जित र एक खेलमा हार बेहोरेको थियो । ऊ घरेलु टोली नेपाललाई स्तब्ध पार्दै एसिया कपको यात्रा गर्ने सोचमा छ । 

  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार ७:४९:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया