वर्षा कारण नेपाल र यूएईबीचको एसिसी प्रिमियर कप क्रिकेटको फाइनल खेल रोकिएको छ । यूएईले १६ ओभरमा ५ विकेट गुमाएर ६० रन बनाएको अवस्थामा पानी परेपछि खेल रोकिएको हो ।
यो अवस्थासम्म नेपालले यूएईको महत्वपूर्ण ५ विकेट लिइसकेको छ । नेपाललाई पाँचौं विकेट दिलाउनेक्रममा स्पिनर सन्दीप लामिछानेले १३.१ ओभरमा यूएईका स्टार अलराउन्डर रोहन मुस्तफालाई २ रनमा आउट गरे ।
नेपाललाई चौथो सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले ९.१ ओभरमा यूएईका अनुभवी ब्याटर रमीज शहजादलाई १ रनमा गुलशन झाको हातबाट क्याच गराए ।
यूएईको तेस्रो विकेट तीव्र गतिका बलर करण केसीले लिए । उनले आर्यन लाक्रालाई ८.१ ओभरमा १३ रनमा पवेलियनको बाटो देखाए । लाक्रा अघिल्लो ओभरमा मात्र भीम सार्कीले क्याच छोड्दा जीवनदान पाएका थिए ।
करणले दोस्रो विकेट दिलाउनेक्रममा जारी प्रतियोगितामा ४ सयभन्दा बढी रन बनाएका विकेटकिपर वृत्य अरविन्दलाई ४.५ ओभरमा व्यक्तिगत ८ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर फिल्डिङ रोजेको नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले ३.१ ओभरमा यूएईका कप्तान मोहम्मद वसिमलाई ११ रनमा आउट गरे ।
फाइनल खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिँदै युवा अलराउन्डर गुलशन झालाई मौका दिएको हो । गुलशनले अघिल्लो महिना आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका थिए ।
यता दीपेन्द्र भने टोलीमा रहेर पनि पहिलोपटक प्लेइङ–११ को हिस्सा बन्न सकेनन् । पछिल्लो समय लयमा नरहेकाले पनि उनले फाइनलमा स्थान बनाउन नसकेका हुन् । ऐरीले जारी प्रतियोगिताको कुनै पनि खेलमा ठूलो पारी खेल्न सकेनन् ।
नेपाल फाइनलमा पनि घरेलु मैदान र उच्च लयको फाइदा उठाउँदै यूएईलाई हराउन चाहन्छ । यूएईले समूह चरणमा चारमध्ये ३ मा जित र एक खेलमा हार बेहोरेको थियो । ऊ घरेलु टोली नेपाललाई स्तब्ध पार्दै एसिया कपको यात्रा गर्ने सोचमा छ ।
फाइनल रद्द भए के हुन्छ ?
आज वर्षाको कारण फाइनल खेल रोकिए भोलि हुनेछ । खेल जहाँबाट रोकिएको हो मंगलबार त्यहीबाट सुरुवात गर्नुपर्नेछ ।
डकवर्थ लुइस पद्धतिको आधारमा नतिजा निकाल्न दोस्रो ब्याटिङ गर्ने टोलीले २० ओभर खेलेको हुनुपर्छ । मंगलबार पनि खेल हुन नसके नतिजा सुपर ओभरबाट निकाल्ने प्रयास हुनेछ ।
सुपर ओभर पनि हुन नसके नेपाल एकदिवसीय वरियताको फाइदा उठाउँदै एसिया कपको यात्रा गर्नेछ । हाल नेपाल आइसिसी ओडिआई वरियतामा १४ औँ र यूएई १९ औँ स्थानमा छ ।
एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ ।
एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।