महाकाली कोरिडोरको ट्र्याक खुलाउने कार्यले अब गति लिन्छ : लेखक
फाइल तस्बिर

नेपाली कांग्रेसका प्रमुख सचेतक एवं पूर्व मन्त्री रमेश लेखकले महाकाली कोरिडोरको ट्र्याक खुलाउने कार्यले अब गति पाउने बताएका छन् । 

कञ्चनपुर निर्वाचन क्षेत्र नं. ३ बाट निर्वाचित सांसदसमेत रहेका कांग्रेस नेता लेखकले विगतमा सरकारको उदासीनताका कारण निर्माणमा ढिलाइ भएको बताउँदै अब डेढ वर्षभित्र कोरिडोरको ट्र्याक खुलिसक्ने दाबी गरे ।

कोरिडोरको शून्य बिन्दु कञ्चनपुरको ब्रह्मदेव क्षेत्रको खल्ला मसेट्टीमा आइतबार स्थलगत अनुगमन गर्ने क्रममा उनले रुख कटान अनुमतिकै कारण योजनाको काम विगतमा प्रभावित रहेको बताए । अहिलेको सरकारले कञ्चनपुरदेखि दार्चुलासम्म नै कोरिडोरको ट्र्याक खुलाउन रुख कटान लगायत अरू कामको अनुमति दिइसकेको अवस्था रहेको भन्दै नेता लेखकले कञ्चनपुरबाट आउँदो दसैँमा डडेलधुराको जोगबुढा क्षेत्रमा यही ट्र्याकबाट पुग्ने बताए ।

कोरिडोरको शून्य बिन्दुदेखि १५ किलोमिटर ट्र्याक खुलाउने काम ठेक्का सम्झौता भएको डेढ वर्ष बितिसक्दा पनि रुख कटानको अनुमति नहुँदा अलपत्र थियो । नेता लेखककै पहलमा रुख कटान अनुमति लगायत यहाँका ठूला विकास निर्माण आयोजनाको विषयमा प्रधानमन्त्री पुष्पकमल दाहालसमक्ष आग्रह गरिएको थियो । कोरिडोरको ट्र्याक खुले लगत्तै सडक कालोपत्रे गर्ने चरणमा जाने बताए । 

उनले बैतडी दार्चुला लगायतका जिल्लामा पनि कोरिडोरको निर्माणको अल्झन हटिसकेको बताउँदै आयोजनाका लागि बजेटको कमी नहुने बताए । यसै गरी महाकाली कोरिडोर आयोजनाका प्रमुख लक्ष्मणदत्त जोशीले वन कार्यालयले रुखमा टाँचा लगाउन सुरु गरेसँगै काम अगाडि बढेको बताए । उनका अनुसार नेपाल–भारत र चीनसँग जोड्ने र त्रिदेशीय नाकाका रूपमा विकास गर्ने अवधारणाका साथ अघि बढेको कोरिडोरको ६० प्रतिशत ट्र्याक खुलेको छ । 

कोरिडोर अन्तर्गत ४२५ किलोमिटर ट्र्याकमध्ये केही भाग (दार्चुलामा) नेपाली सेनाले ट्र्याक खोलिरहेको छ । कोरिडोरको अनुगमनमा प्रमुख सचेतक लेखकसँगै सुदूरपश्चिम प्रदेश सभा सदस्य बेलबहादुर राना र मधु भारती, जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख दुर्गादत्त बोहरा लगायतको सहभागिता थियो । 





  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार ११:१:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया