एसिसी प्रिमियर कप फाइनल
यूएईको सातौँ विकेट पतन, सन्दीपलाई दोस्रो सफलता
फाइल तस्बिर

एसिसी प्रिमियर कप क्रिकेटको फाइनलमा यूएईविरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । नेपाललाई सातौँ सफलता दिलाउनेक्रममा सन्दीप लामिछानेले २५.४ ओभरमा अयान अफ्जल खानलाई ५ रनमा कुशल मल्लको हातबाट क्याच आउग गराए । 

यूएईको छैटौँ विकेट युवा अलराउन्डर गुलशन झाले लिए । उनले २२.५ ओभरमा बसिल हमीदलाई १० रनमा बोल्ड गरे । नेपाललाई पाँचौं विकेट दिलाउनेक्रममा स्पिनर सन्दीपले १३.१ ओभरमा यूएईका स्टार अलराउन्डर रोहन मुस्तफालाई २ रनमा आउट गरे । 

नेपाललाई चौथो सफलता स्पिनर ललितनारायण राजवंशीले दिलाए । उनले ९.१ ओभरमा यूएईका अनुभवी ब्याटर रमीज शहजादलाई १ रनमा गुलशन झाको हातबाट क्याच गराए । 

यूएईको तेस्रो विकेट तीव्र गतिका बलर करण केसीले लिए । उनले आर्यन लाक्रालाई ८.१ ओभरमा १३ रनमा पवेलियनको बाटो देखाए । लाक्रा अघिल्लो ओभरमा मात्र भीम सार्कीले क्याच छोड्दा जीवनदान पाएका थिए । 

करणले दोस्रो विकेट दिलाउनेक्रममा जारी प्रतियोगितामा ४ सयभन्दा बढी रन बनाएका विकेटकिपर वृत्य अरविन्दलाई ४.५ ओभरमा व्यक्तिगत ८ रनमा विकेटकिपर आसिफ शेखको हातबाट क्याच आउट गराए ।   

नेपाललाई पहिलो सफलता दिलाउनेक्रममा तीव्र गतिका बलर सोमपाल कामीले ३.१ ओभरमा यूएईका कप्तान मोहम्मद वसिमलाई ११ रनमा आउट गरे । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले यो समाचार तयार पार्दासम्म २६ ओभरमा ७ विकेट गुमाएर १०३ रन बनाएको छ । 



फाइनल खेलमा नेपालले प्लेइङ–११ मा एक खेलाडी परिवर्तन गरेको छ । नेपालले आज दीपेन्द्र सिंह ऐरीलाई विश्राम दिँदै युवा अलराउन्डर गुलशन झालाई मौका दिएको हो । गुलशनले अघिल्लो महिना आइसिसी विश्वकप लिग–२ को अन्तिम खेलमा यूएईविरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै नेपाललाई जित दिलाएका थिए ।

यता दीपेन्द्र भने टोलीमा रहेर पनि पहिलोपटक प्लेइङ–११ को हिस्सा बन्न सकेनन् । पछिल्लो समय लयमा नरहेकाले पनि उनले फाइनलमा स्थान बनाउन नसकेका हुन् । ऐरीले जारी प्रतियोगिताको कुनै पनि खेलमा ठूलो पारी खेल्न सकेनन् ।       



नेपाल फाइनलमा पनि घरेलु मैदान र उच्च लयको फाइदा उठाउँदै यूएईलाई हराउन चाहन्छ । यूएईले समूह चरणमा चारमध्ये ३ मा जित र एक खेलमा हार बेहोरेको थियो । ऊ घरेलु टोली नेपाललाई स्तब्ध पार्दै एसिया कपको यात्रा गर्ने सोचमा छ ।

एसिया कपमा स्थान बनाए नेपालले भारत र पाकिस्तानसँग खेल्ने मौका पाउनेछ । आगामी सेप्टेम्बरमा हुने तय एसिया कपको समूह ‘ए’ पाकिस्तान र भारतसँगै एसिसी प्रिमियर कप विजेता खेल्ने तालिका छ । एसिया कपको अर्को समूहमा श्रीलंका, बंगलादेश र अफगानिस्तान रहेका छन् ।    

  • प्रकाशित मिति : बैशाख १८, २०८० साेमबार ११:३८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया