प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सरकारको साझा न्यूनतम कार्यक्रम पुनर्लेखनका लागि राजी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)लाई पुनः सरकारमा आउन गरेको आग्रहमा रास्वपाले राखेको सो सर्त मान्न प्रधानमन्त्री तयार भएका हुन् ।
रास्वपाले साझा न्यूनतम कार्यक्रममा भ्रष्टाचारसम्बन्धी फाइल खोल्ने गरी आयोग बनाउनुपर्ने यसअघिको गठबन्धन सरकारको बुँदा हटाइएको भन्दै असन्तुष्टि जनाएपछि प्रधानमन्त्री दाहाल प्राथमिकता पुनर्लेखनका लागि गर्न तयार भएका हुन् ।
सोमबार गृहजिल्ला चितवन पुगेर प्रधानमन्त्री दाहालले साझा कार्यक्रममा थपघट गरेर जान सकिने बताएका हुन् । उनले भनेका छन्, ‘साझा कार्यक्रममा थपेर जान सक्छौँ । भष्टाचारका फाइल अध्ययन गर्ने हाम्रो नीतिमै छ ।’
पत्रकार सम्मेलनमा दाहालले गठबन्धनका साझेदार दलहरूसँग सल्लाह गरेर रास्वपालाई सम्मानजनक मन्त्रालय दिन सकिने बताए । प्रधानमन्त्रीको यो घोषणा सँगै रास्वपा सरकारमा सहभागी हुने करिब निश्चित जस्तै देखिएको छ ।
आइतबार रास्वपा सभापति रवि लामिछाने र प्रधानमन्त्री दाहालको भेटवार्ता भएको थियो । सो भेटमा दाहालले सरकारमा सहभागी हुन आग्रह गर्दै रास्वपाका सर्त सम्बोधन गर्न सकिने बताएका थिए ।
यसका लागि दाहालले गठबन्धनको ठूलो दल कांग्रेस र एकीकृत समाजवादीका शीर्ष नेतासँग समेत अनौपचारिक रूपमा परामर्श पनि सुरु गरेका छन् । प्रधानमन्त्री दाहाल गृह र स्वास्थ्य मन्त्रालयसहित अर्को एक मन्त्रालय दिएर रास्वपालाई सरकारमा सहभागी गराउने तयारीमा छन् ।
रास्वपाले १० पुसको सहमतिअनुसार गृहलगायत पुरानै मन्त्रालय पाउनुपर्ने, सरकारको न्यूनतम साझा कार्यक्रमको पुनर्लेखन हुनुपर्ने, मन्त्रालय सञ्चालनमा प्रधानमन्त्री कार्यालयबाट ‘हस्तक्षेप’ हुन नहुने र सरकारको निरन्तरता रहनुपर्नेलगायत सर्त प्रधानमन्त्रीसमक्ष अघि सारेको थियो ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।