छिट्टै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना हुन्छ : प्रधानमन्त्री प्रचण्ड

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सञ्चार तथा सूचना प्रविधिको विकास, विस्तार र प्रयोगबाट नै नागरिकको जीवनस्तर उकासी मुलुकलाई समृद्ध बनाउन सकिन्छ भन्नेमा सरकार विश्वस्त रहेको बताएका छन् । 

छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसका अवसरमा आज शुभकामना दिँदै उनले यसको विकास, विस्तार र सुरक्षित प्रयोगलाई सुनिश्चित गर्न आवश्यक पर्ने नीति, ऐन, नियमावलीलगायतका कानुनी व्यवस्थाका लागि सरकारी प्रतिबद्ध रहेको बताए । 

सरकारले सूचना प्रविधिको उपयोग गरी आर्थिक, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा रुपान्तरण गर्ने विश्वासका साथ ‘डिजिटल नेपाल फ्रेमवर्क, २०७६’ कार्यान्वयनमा ल्याएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले साइबर सुरक्षाको बढ्दो चुनौतीलाई मध्यनजर गर्दै आवश्यक नीति, नियम र संरचना बनाउने कार्यलाई सरकारले प्राथमिकता दिएको बताए ।

चाँडै राष्ट्रिय साइबर सुरक्षा केन्द्र स्थापना गर्न अध्ययन कार्य भइरहेको उनको भनाइ छ । प्रधानमन्त्री दाहालले सरकारी सेवामा सूचना प्रविधिका दक्ष जनशक्ति भित्र्याउन र उपलब्ध जनशक्तिलाई सेवामा टिकाइराख्नका लागि समयसापेक्ष नीतिगत सुधार गर्दै लगिने प्रतिबद्धता व्यक्त गरेका छन् ।

दूरसञ्चार सेवालाई गुणस्तरीय बनाउनका लागि सबै जिल्लामा फोरजी सेवालाई प्रभावकारी बनाउँदै लगिएको जनाउँदै उनले अप्टिकल फाइबरको विस्तारमार्फत उच्च गतिको इन्टरनेट सेवा विस्तार गर्ने कार्यलाई द्रूत गतिमा अघि बढाइएको बताएका छन् । आगामी आर्थिक वर्षभित्र सबै स्थानीय तहमा उच्च गतिको इन्टरनेट पुर्‍याउने सरकारको लक्ष्य रहेको प्रधानमन्त्री दाहालले प्रष्ट पारेका छन् । 

उनले सञ्चार तथा सूचना प्रविधिको क्षेत्रमा तीव्र विकास गरी यसको माध्यमबाट आम जनताको जीवनमा रूपान्तरण ल्याउनका लागि सबै पक्षसँग अपिल पनि गरेका छन् ।  ‘सुरक्षित सूचना प्रविधि, सुशासन र समृद्धि’ भन्ने मूल नाराका साथ आज देशव्यापीरूपमा छैटौँ राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवस मनाइँदैछ । 





  • प्रकाशित मिति : बैशाख १९, २०८० मंगलबार ८:२४:३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया