२१ वर्षको लामो प्रतीक्षापश्चात् नेपाल एसिया कप क्रिकेट प्रतियोगितामा पुग्न सफल भएको छ । नेपालले पहिलोपटक एसिसी प्रिमियर कपको उपाधि जितेर एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको हो ।
यसअघि नेपालले सन् २००२ मा सिंगापुरमा भएको एसिसी ट्रफीको फाइनलमा पुग्दै एसिया कपको यात्रा तय गरेको थियो ।
नेपालले मलेसियालाई सेमिफाइनलमा हराउँदै एसिया कपमा स्थान बनाएको थियो । राजु खड्काको कप्तानीमा नेपालले समूह चरणमा ओमान, कतार, कुवेतलाई हरायो । यूएईसँग पराजित भए पनि समूह उपविजेताको रूपमा नेपालले सेमिफाइनलमा मलेसियाविरुद्ध २५ रनको जित निकाल्यो ।
नेपाल समूह चरण र फाइलनमा यूएईसँग समान ६ विकेटले पराजित भएको थियो । तर, भारत र पाकिस्तानबीच कारगिलमा युद्ध चलिरहेकाले नेपालले उक्त एसिया कप खेल्न पाएन ।
मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा यूएईलाई ७ विकेटले हराउँदै नेपाल समग्रमा दोस्रोपटक एसिया कपमा पुगेको छ । नेपालले अब आगामी सेप्टेम्बरमा हुने एसिया कपमा भारत र पाकिस्तानसँग खेल्ने स्वर्णिम अवसर प्राप्त गर्यो ।
सोमबार टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले २७.३ ओभरमा ९ विकेटको क्षतिमा १०६ रन बनाएको अवस्थामा वर्षाले खेल रोकिएको थियो । मंगलबार त्यहीँबाट अघि खेल्न थालेको यूएईले थप ११ रन जोड्दा बाँकी रहेको एक विकेट गुमायो ।
यूएईले उपाधि जित्न दिएको ११८ रनको लक्ष्य नेपालले ३०.३ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । नेपालको सुरुवात भने राम्रो रहेन । दोहोरो अंकमा रन छुन नपाउँदै दुवै ओपनर आउट भएका थिए ।
कुशल भुर्तेल दोस्रो ओभरमै ८ बल खेलेर एक रन जोड्दा एलबीडब्लु आउट भए । त्यसपछि १९ रनको स्कोरमा आसिफ शेख व्यक्तिगत ८ रनको स्कोरमा आउट भए । तेस्रो नम्बरमा मैदान प्रवेश गरेका गुलशनसँग कप्तान रोहित पौडेलले इनिङ सम्हाल्ने प्रयास गरे । तर, ९ बल खेलेका रोहित पनि १ रनमै पवेलियन फर्किए । आठाैँ ओभर समाप्त हुँदा ३ विकेट गुमाएर नेपाल मात्र २२ रनको स्थितिमा थियो ।
तेस्रो नम्बरमा ब्याटिङका लागि पुगेका गुलशनले भीम सार्कीसँग मिलेर नेपाललाई जित दिलाए । नेपालको जितमा गुलशनले अर्धशतकीय पारी खेले । उनले नटआउट ६७ रन जोड्दा भीम सार्कीले नटआउट ३६ रन बनाए । यी दुईबीच चौथो विकेटका लागि ९६ रनको साझेदारी भयो । गुलशनले ८४ बलमा ३ चौका र ६ छक्का तथा भीमले ७२ बलमा ४ चौका हिर्काए ।
यूएईविरुद्ध जित निकालेको मंगलबारको म्याचको नायक बन्न सफल भएका छन् युवा खेलाडी गुलशन । सानदार इनिङ खेलेका उनी प्लेयर अफ द म्याच घोषित भए ।
गुलशनले यो जित समग्र देशवासीको रहेको प्रतिक्रिया दिएका छन् । पूरै नेपाल र नेपाली जनतालाई जितको मुस्कान दिलाउन पाउँदा आफूलाई धैरै खुसी लागेको उनले बताए ।
यूएईविरुद्धको खेलमा नेपाली टोलीलाई जित दिलाउने युवा अलराउन्डर गुलशनको जन्म सर्लाहीको मलंगवा नगरपालिकार–८ मा सामान्य परिवारमा भभएको हो । सानै उमेरदेखि खेलमा रुचि राख्ने उनटी पारिवारिक सहयोगका कारण आज नेपाली क्रिकेटको चम्किलो तारा बनेका छन् । बुबा अखिलेश कुमार झा र आमा अञ्जु झाले आफूमा खेलप्रतिको लगनशीलता देखेर अभिप्रेरित गरेको गुलशनले बताए ।
उनले भारतको राँचीमा ४ वर्षसम्म क्रिकेटको प्रशिक्षण लिए । कोरोना महामारीको संक्रमण बढ्दा उनी घर फर्किए । घर फर्किएर उनले त्यहाँ मेयर कपमा सहभागिता जनाए । मेयर कपमा उनको उत्कृष्ट प्रदर्शनबाट प्रभावित भएर नेपाल क्रिकेट संघले उनलाई यू–१९ टिममा स्थान दियो ।
उनलाई टिमको कप्तानसमेत बनाइयो । त्यसपछि गुलशनलाई विश्वकप क्रिकेटको लिग–२ खेलिरहेको नेपाली सिनियर टिममा पनि स्थानमा दिइयो ।
एसिसी प्रिमियर लिगको विजेता बनेसँगै भारत, पाकिस्तान जस्तो टेस्ट मान्यता प्राप्त क्रिकेट टिमसँग नेपालले प्रतिस्पर्धा गर्न पाउनेछ । त्यस्तै, विश्वकप क्रिकेट छनोट चरणमा श्रीलंका, आयरल्याण्ड, जिम्बावेलगायतको क्रिकेट टोलीसँग प्रतिस्पर्धा गर्नेछ । एसिया कपमा नेपालसँगै पाकिस्तान र भारत समूह ‘ए’ मा तथा बंगलादेश, श्रीलंका र अफगानिस्तान समूह ‘बी’ मा छन् ।
यसअघि पनि गत २ चैतमा लिग–२ अन्तर्गतको अन्तिम खेलमा नेपालले यूएईलाई डिएल मेथडबाट ९ रनले पराजित गर्दै एकदिवसीय विश्वकपको छनोट चरणमा प्रवेश गरेको थियो । नेपालका लागि त्यो म्याच गर या मरको स्थितिमा थियो । यूएईले सो खेलमा नेपालसामु ३ सय ११ रनको बलियो लक्ष्य दिएको थियो । त्यो बेलासम्म नेपालले २ सय ८५ भन्दा माथिको योगफल एकदिवसीय क्रिकेटमा बनाउन सकेको थिएन ।
डिएल मेथडबाट यूएईविरुद्धको जित निकालेको त्यो म्याचको पनि नायक बन्न सफल भएका थिए गुलशन । खेलको ४२ औँ ओभरमा २० रन बनाएर उनले टिमलाई जितको मुखसम्म पुर्याएका थिए ।
उक्त खेलमा गुलशन ३२औँ ओभरमा क्रिजमा आएका थिए । ४१औँ ओभरसम्म उनी ३६ बलमा २५ रन बनाएर खेलिरहेका थिए । ४४औँ ओभरमा खेलको नतिजा आउँदा गुलशन ४८ बलमा ५० रन बनाएर अविजित रहे ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।