जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाली नागरिकलाई नक्कली भुटानी बनाएर विदेश पठाउँदै कमाउने प्रथा चलेकोबारे आफूले पहिलोपल्ट सुनेको बताएका छन् । उनले यसबारे सरकारले गम्भीररुपमा छानबिन गरेर जोसुकै दोषी भए पनि कारबाहीको दायरामा ल्याउनुपर्ने बताए ।
त्यस्तै उनले वर्तमान पाँचदलीय गठबन्धनलाई निरन्तरता दिएर मुलुकलाई सुशासन र राजनीतिक स्थिरतातर्फ लैजानुपर्ने बताएका छन् । आज आयोजित साक्षात्कार कार्यक्रममा अहिलेको सत्ता गठबन्धनलाई पाँच वर्षसम्म निरन्तरता दिनुपर्ने बताए ।
सरकारले जनतालाई परिवर्तनको अनुभूति हुने गरी नीति तथा कार्यक्रम ल्याउनुपर्ने उनको भनाई छ । ‘सरकारको स्थिरताबिना मुलुकको आर्थिक, सुशासन र समृद्धि प्राप्त हुँदैन, त्यसैले सत्तामा रहेका राजनीतिक दलले मुलुक र जनताको हितमा परिवर्तनमुखी काम गर्नु पर्दछ ।’
अध्यक्ष यादवले राजनीतिक दलका नेताप्रति वितृष्णा फैलाउने कार्यसँग आफू सदैव असहमत रहेको बताउँदै मुलुकले अत्यन्तै आर्थिक सङ्कट बेहोरिरहेकाले सरकारले आगामी बजेट शिक्षा, कृषि, स्वास्थ्य र पर्यटन क्षेत्रको उत्थानमा केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
सरकार परिवर्तनको हल्ला व्यर्थ रहेको बताउदै उनले भने, ‘दिनैपिच्छे सरकार परिवर्तन हुने हल्ला चलाए कसैको हित हुँदैन । अब जनतालाई गरेर देखाउने बेला आएको छ, हाम्रो पाटी शिक्षा, रोजगारी, कृषि, पर्यटन र स्वास्थ्य क्षेत्रमा विशेष ध्यान दिन सरकारलाई आग्रह गर्दछौँ ।’
अध्यक्ष यादवले वर्तमान आर्थिक सङ्कटको समाधानका लागि सरकारले आफ्नो आर्थिक नीतिमा परिवर्तन गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए । उनले व्यापारीले घरमा थुपारेको भनिएको रकम बाहिर ल्याउन सरकारले अर्थ नीतिमा परिवर्तन गर्नुपर्ने बताए ।
उनले भने, ‘घरघरमा थुपारिराखेको रकमलाई बाहिर ल्याउन पाँचसय र एकहजारका नोट विमुद्रीकरण गर्ने जुन हल्ला बजारमा छ, त्यसो गरिए देशको आर्थिक सङ्कट झन बल्झिने मात्र नभई अर्थतन्त्र नै डामाडोल हुन्छ, त्यस्तो कदम सरकारकै लागि आत्मघाती हुनेछ ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।