त्रिभुवन विमानस्थलमा अवतरण हुन नसकेपछि अन्तर्राष्ट्रिय उडानका तीन जहाज डाइभर्ट

अन्तर्राष्ट्रिय उडानका तीन जहाज भारतको वनारस र लखनउ​ डाइभर्ट भएका छन् । एयर इन्डियाको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुन नसकेपछि एयर इन्डिया बनारस र फ्लाई दुबई र इन्डिगो एयरको जहाज लखनउ डाइभर्ट भएको विमानस्थल कार्यालयले जनाएको छ ।
    
विमानस्थलका प्रवक्ता टेकनाथ सिटौलाका अनुसार डाइभर्ट भएका तीन जहाजमध्ये एयर इन्डिया र फ्लाई दुबईको जहाज पुनःअवतरण भइसकेका छन् भने इन्डिगो एयर राति १०ः४५ बजे काठमाडौं अवतरण गर्ने उडान तालिका रहेको छ ।
     
डाइभर्ट हुनुअघि एयर इन्डियाको जहाजले आज दिउँसो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुनै लाग्दा ओभरसुट गरेको थियो । काठमाडौं विमानस्थलमा मिस एप्रोच भएपछि उक्त जहाज करिब एक घण्टा आकाशमा फन्को लगाएर ‘होल्ड’ भएको थियो । जहाजले पुनः एप्रोच लिन नसकेपछि बनारस डाइभर्ट भएको विमानस्थलले जनाएको छ ।
     
विमानस्थलका एक एयर ट्राफिक कन्ट्रोलर (एटिसी)का अनुसार ‘टेल विन्ड’ (पछाडिबाट लागेको हावा)का कारणले जहाज अवतरण समस्या आएको बताए । 

अन्तर्राष्ट्रिय उडानका ठूला जहाज धावनमार्गको दक्षिणतर्फबाट मात्रै अवतरण हुन्छ । दक्षिणतर्फ तीव्र गतिको हावा चलेकाले जहाज अवतरण हुन नसकेका हुन् । यो समाचार तयार पार्दासमेत मलेसियाको क्वालालम्पुरबाट आएको हिमालय एयरलाइन्स झण्डै एक घण्टा सिमरामाथिको आकाशमा होल्ड भएपछि भर्खरै अवतरण गरेको छ । सिंगापुर एयरलाइन्स पनि केहीबेर होल्डमा परेको छ ।





  • प्रकाशित मिति : बैशाख २७, २०८० बुधबार २२:३६:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया