बाजुराको खप्तड छेडेदह जिल्लाकै दुर्गम गाउँपालिका चिनिन्छ । धेरै विकास पूर्वाधारबाट वञ्चित भए पनि गाउँपालिकामा सडक निर्माणले भने तीव्रता पाएको छ ।
सडक निर्माण भएसँगै स्थानीयको दैनिकी फेरि थालेको छ । खप्तड छेडेदह गाउँपालिका तीनतिरबाट सडकले जोडिएको छ । यो पालिका साँफेबगर नगरपालिका–१३ बाब्लाबाट, बाजुराको बुढीगंगा नगरपालिका र बझाङबाट सडकले जोडेको हो ।
खप्तड छेडेदह गाउँपालिका–१ काँडा जान सडक पुग्नुभन्दा पहिले साफेँ–मार्तडी सडकबाट एक दिन लाग्थ्यो । तर, अहिले भने काँडावासी साँफेबाट २ घण्टामै घर पुग्ने गरेका छन् । ‘पाँच वर्ष पहिले गाडीबाट बिहान झरेमा साँझ घर पुग्न सकिन्थ्यो’, खप्तड छेडेदह गाउँपालिका–१ थपालीका पिरु रोकायाले भने ।
खप्तड छेडेदह गाउँपालिका–१ बाहुनगाउँका सुरेश खत्री १० वर्षपछि गाउँ फर्किए । उनी बसबाट झरेको दुई घण्टामै घर पुगे । एक दशकअघि भारत जाँदा दिनभर हिँडेर गाडीसम्म पुगेका उनी अहिले दुई घण्टामा घर पुग्दा खुसी देखिन्थे ।
‘यसअघि बिहानै हिँडेर साँझमा घर पुगिन्थ्यो । गाउँमा सडक पुगेकाले छिटो र सजिलो भएको छ,’ उनले भने । भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्र सडक सञ्जालले जोडिएपछि काँडावासीलाई आवतजावत, ढुवानी र गाउँका जडीबुटी, कृषि उपज र खसीबोका निकासी गर्न सहज भएको छ ।
यसअघि सडक र यातायात सुविधा नहुँदा भरियाबाट दैनिक उपभोग्य सामान ढुवानी गर्दा महङ्गो पर्थ्यो । सडक निर्माण भएपछि एक दिनको बाटो दुई घण्टामा छोटिएको अर्का स्थानीय प्रेम रोकायाले बताए ।
सहजसँगै जोखिम
काँडा पुग्नका लागि सबैभन्दा छोटो र सजिलो अछाम–बाब्ला हुँदै जाने सडक मानिन्छ । सुदूरपश्चिमको पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जको फेदमा अवस्थित काँडा भौगोलिक हिसाबले भिरालो छ ।
पालिकाले ठूलो रकम खर्च गरे पनि सडक यात्रा असुरक्षित छ । ‘अहिले समयमै घर पुगे पनि यात्रा भने असुरक्षित रहेको छ । साथै, महँगोमा यात्रा गर्नुपर्ने वाध्यता पनि छ,’ स्थानीय पिरु रोकायले भने ।
बिनास्टमेट तयार पारेका सडकमा रुट परमिटबिना नै जिप सञ्चालन भइरहेका छन् । जथाभाबी सवारीसाधन चलाउँदा दुर्घटनाको जोखिमसमेत बढेको छ । सडक स्तोरन्नतीका साथै ट्राफिकको निगरानी बढाउनुपर्नेमा पालिकावासीको जोड छ ।
यस्तै, दुर्गममा सडक पुगे पनि खेतीयोग्य जमिन गुमाउँदा भने जग्गाधनी दुःखी पनि छन् । ‘पछिल्लो समय गाउँपिच्छे सडक निर्माण भए । तर, प्रविधिकहरूको सल्लाहबिना नै खनिएका सडकले गर्दा कतिपय गाउँ नै जोखिममा पारेका छ’, अछाम बाब्लाका धीरेन्द्र कुँवरले भने, ‘अर्कोतर्फ खेतीयोग्य जमिन मासिएका छन्, यसको जिम्मा कसले लिने हो ?’
कच्ची सडकको फाइदा उठाउँदै मनपरि भाडा
कच्ची सडकको फाइदा उठाउँदै यहाँ जिप सञ्चालले महँगो भाडा असुलिरहेका छन् । चालकले ३० किलोमिटर सडकको ५ सय रुपैयाँ लिइरहेका छन् । कच्ची सडकमा गाडी बिग्रिएमा मर्मत शुल्क बढी लाग्ने भएकाले भाडा बढी लिनुपर्ने वाध्यता भएको जिप सञ्चालक बताउँछन् ।
‘अप्ठ्यारो र साँघुरो सडकमा जोखिम मोलेर गाडी हाल्नुपरेको छ’, नाम नभन्ने सर्तमा ती गाडी सञ्चालकले भने, ‘त्यसले गर्दा पनि सामान्यभन्दा केही बढी भाडा लिनु परेको हो ।’
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।