वैदेशिक रोजगारीको मोह छाडेर बाख्रापालनमा

स्वदेशमा रोजगारी नभएको भन्दै दैनिक सयौं युवा विदेशिरहेका छन् । तर, केही युवा भने स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्न प्रयासरत छन् । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ का नारायण बरुवाल पनि वैदेशिक रोजगारीको मोह छाडेर बाख्रापालनमा लागेका छन् ।

वर्षौँदेखि परम्परागत शैलीमा सामान्य बाख्रा तथा भेडापालनमा लागेको बरुवाल परिवार अहिले भने शैलीमा परिवर्तन र प्रविधिलाई पछ्याउँदै आधुनिक बाख्रापालनमा लागेको हो ।

३० वर्षीय बरुवाललाई श्रीमती सोमित्रा र छोरा नारायणले नियमित सहयोग गर्दै आएकी छन् भने एकजनाले नियमितरूपमा प्रत्यक्ष रोजगारी पाएका छन् ।​ उनका खोरमा हाल सानो र ठूलो गरी १ सय २० बाख्रा छन् । वरपर जंगल भएका कारण चितुवाबाट बाख्रा जोगाउन १ सय ५० मिटर तारबारले खोरलाई घेरेर सुरक्षित बनाइएको छ । घाँसको दिगो व्यवस्थापनका लागि २५ रोपनी क्षेत्रफलको जग्गामा विभिन्न जातका घाँस लगाइएको छ । 

बाख्राखोरमा २९ लाख खर्च भइसकेको र करिब १८/१९ लाख बाख्रा खरिद एवं सोलार जडान आदिमा खर्च भएको उनले जानकारी दिए । सुरुमा पाँचवटा बाख्राबाट परम्परागत शैलीले बाख्रापालन सुरु गरिएको बरुवालको फार्ममा हाल बोयर क्रस, शुद्ध बोयर, सिनाल, जमुनापारी आदि जातका बाख्रा छन् । विदेशबाट फर्किएर बाख्रापालनमा लाग्दा नारायणका अघि विभिन्न प्रश्न पनि तेर्सिने गरेका छन् । 

दैनिक न्यूनतम एकजनाले किन विदेशको राम्रो जागिर छाडेर यस्तोमा लागेको भनेर प्रश्न गर्ने गरेको उनले जानकारी दिए । स्वदेशमा नै केही गर्न सकिन्छ कि भनेर विदेशको जागिर छाडेर फर्किएको अनुभव सुनाउँदै उनले जागिरको खोजीमा विदेशिएका युवाका लागि यहाँ नै केही गर्न सकिन्छ भन्ने उदाहरण बन्न चाहेको बताए । 

नारायणका बुबा धनबहादुरका पनि जीवनका विभिन्न भोगाइ र अनुभव छन् । हाल ५२ वर्ष उमेर पुगेका धनबहादुर २०४६ सालदेखि व्यवसायमा लागे । किराना पसलसँगै होटल व्यवसायसमेत सञ्चालन गरेका उनले झन्डै १५/१६ वर्ष सामान ढुवानीका लागि खच्चडसमेत पाले । १३ वर्षअघिसम्म खच्चड पालेको र ६ वर्षसम्म इराकमा वैदेशिक रोजगारका लागि पनि गएको उनको अनुभव छ । रासस  





  • प्रकाशित मिति : बैशाख ३१, २०८० आइतबार ७:१३:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया