विपन्न समुदायका व्यक्तिलाई गाउँपालिकाद्वारा रेडियो वितरण

सूचनाको पहुँचमा सबै नागरिकलाई पुर्‍याउने उद्देश्यले चितवनको इच्छाकामना गाउँपालिकाले अतिविपन्न समुदायका परिवारलाई रेडियो वितरण गरेको छ  । पहिलो चरणमा वडा नम्बर ५ का जौगैरा, ढुसघारी र भोटेस्वराका १५ जनालाई रेडियो वितरण गरिएको छ ।  

रेडियो पाएपछि जौगैराका ६० वर्षीय कोतरा चेपाङले खुसी व्यक्त गरे । आर्थिक अवस्था कमजोर रहेका चेपाङले रेडियोबाट गीत–सङ्गीत, समाचार सुन्न पाउने भइयो भन्दै उनले गाउँपालिकाका जनप्रतिनिधिलाई धन्यवाद दिए ।   

गाउँपालिका अध्यक्ष दानबहादुर गुरुङका अनुसार गाउँपालिकाले यस आर्थिक वर्षमा मात्र एक सय रेडियो वितरण गर्दैछ । सातवटै वडाका अतिविपन्न र सूचनाको पहुँचमा नभएका गाउँपालिकाका नागरिकलाई रेडियो वितरण गरिने उनको भनाइ छ ।

अध्यक्ष गुरुङले भने, ‘सूचना पाउनु नागरिकको अधिकार हो, कोही पनि नागरिक सूचनाको पहुँचबाट टाढा बस्नु हुँदैन, यहाँका कतिपय नागरिक मोबाइल, इन्टरनेट, टेलिभिजन र रेडियोको पहुँचमा छैनन्, ती नागरिकलाई सूचनाको पहुँचमा ल्याउने हाम्रो लक्ष्य हो ।’ यहाँका ग्रामीण भेगमा सूचनाका लागि उपयुक्त माध्यम रेडियो भएको उनको भनाइ छ । 
 
देश–विदेशका घटनाक्रम तथा गाउँपालिकाको गतिविधि एवं सूचना जानकारी दिन तथा रेडियो सुन्ने बानीको विकास हुने अध्यक्ष गुरुङको विश्वास छ । रेडियो सुन्ने बानीको विकाससँगै रेडियोबाट प्रसारण हुने जनचेतनामूलक सूचना कार्यक्रमले नागरिकमा चेतनाको विकास हुने उनको भनाइ छ । रासस 





  • प्रकाशित मिति : बैशाख ३१, २०८० आइतबार ९:०:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया