सरकारले शरणार्थी प्रकरणबारे जानकारी नदिएसम्म संसद्को कामकारबाही अगाडि बढाउन हुँदैन : ठाकुर गैरे

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद ठाकुरप्रसाद गैरेले नक्कली भुटानी शरणार्थी प्रकरणबारे सरकारले जानकारी नदिएसम्म संसदको कामकारबाही अगाडि बढाउन नहुने बताएका छन् ।  

सो प्रकरण जघन्य अपराध भएको र सभामुखले रुलिङ गर्दा पनि सरकारले सो विषयबारे संसदलाई अझै जानकारी नगराएकोमा उनले आक्रोश पोखे । सोमबार प्रतिनिधिसभा बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसद गैरेले संसदको कामकारबाहीलाई रोकेर भए पनि सरकारलाई त्यसबारे संसदमा जानकारी गराउन रुलिङ गर्न पनि सभामुख समक्ष माग गरे ।  

उनले अन्तर्राष्ट्रिय जगतको समेत ध्यानाकर्षण भइरहेको सो प्रकरणबारे किन संसदलाई जानकारी नगराएको भनी सरकारलाई प्रश्नसमेत गरे । 

‘आज भ्रष्टाचारको विरुद्धमा सिंगो देश आन्दोलित छ । अन्तर्राष्ट्रिय जगतको ध्यानाकर्षण भएको छ । संसद चलिराखेको छ । र, सरकारले अहिले पनि यसको अनुसन्धानमा ढिलासुस्ती, आलटाल गरिरहेको छ । र, जनतालाई यसको निष्पक्ष छानबिन हुन्छ भन्ने विश्वास छैन,’ सांसद गैरेले भने, ‘अस्ति २८, २९ र ३० गते बसेको नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले संस्थागतरूपमा यसमा निष्पक्ष छानबिन गर्न र दोषीलाई कारबाही गर्न मागसमेत गरेको छ । यस सन्दर्भमा म आजको यस बैठकमा यस विषयमा सरकारले सदनलाई जानकारी दिनुपर्छ । अनि मात्रै सदनको काम अघि बढ्नुपर्छ भन्ने कुरा म माग गर्न चाहन्छु । ध्यानाकर्षण गराउन चाहन्छु । र, यो जघन्य अपराधको निष्पक्ष छानबिन होस् । दोषीलाई कारबाही होस् । र, अन्य जनप्रतिनिधिको नाममा, पार्टीको नेताको नाममा वा अरू कुनै पनि व्यक्तिको नाममा गरिने भ्रष्टाचारजन्य क्रियाकलापहरूलाई निरूत्साहित गर्न, दण्डनीय बनाउन यो संसद दृढतापूर्वक उपस्थिति हुनु पर्दछ ।’   

उनले नक्कली भुटानी शरणार्थी प्रकरणबारे निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराए । 





  • प्रकाशित मिति : जेठ १, २०८० साेमबार १४:१:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया