रियल मड्रिडलाई ४-० ले हराउँदै सिटी च्याम्पियन्स लिगको फाइनलमा

गत संस्करण विजेता स्पेनिस क्लब रियल मड्रिडविरुद्ध फराकिलो जित निकाल्दै इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फाइनलको यात्रा तय गरेको छ ।

गएराति सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४–० तथा समग्रमा ५–१ को जित निकाल्दै सिटीले फाइनलको यात्रा तय गरेको हो । पहिलो लेग यी दुई टोलीले १–१ गोलको बराबरी खेलेका थिए । दोस्रो लेगमा भने सिटीले घरेलु मैदान रियलविरुद्ध सानदार प्रदर्शन गर्‍यो ।  

इतिहाद स्टेडियममा भएको खेलमा म्यानचेस्टरको जितमा बर्नाडो सिल्भाले दुई, म्यानुयल एकान्जी र जुलियन अल्भारेजले एक/एक गोल गरे । खेलको २३ औँ मिनेटमा सिल्भाले गोल गर्दै सिटीलाई सुरुआती अग्रता दिलाए । ३७ औँ मिनेटमा सिल्भाले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे ।

७६ औँ मिनेटमा म्यानुयल एकान्जीको गोलबाट सिटी ३–० ले अघि बढ्यो । इन्जुरी समयको थप गरिएको पहिलो मिनेटमै अल्भारेजले गोल गर्दै ४–० को जित दिलाउँदै सिटीको फाइनल टिकट पक्का गरे ।

सिटीले दोस्रोपटक फाइनलको यात्रा गरेको हो । यसअघि ऊ सन् २०२०/२१ को सिजनमा फाइनलमा पुगेको थियो । सो संस्करणको फाइनलमा सिटी चेल्सीविरुद्ध पराजित भएको थियो ।  

यसपटक सिटीले उपाधिका लागि १० जुनमा इटालियन क्लब इन्टर मिलानको सामना गर्नेछ ।  





  • प्रकाशित मिति : जेठ ४, २०८० बिहीबार ६:३३:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया