त्रिविमा शिक्षक र कर्मचारीको हाहाकार

त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा शिक्षक, कर्मचारीको अभाव हुँदा एउटै कर्मचारीले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था देखिएको छ । विश्वविद्यालयमा शिक्षक र कर्मचारीको कूल दरबन्दी संख्या १६ हजार ६२ रहेकोमा हाल ५ हजार ४६१ पद रिक्त रहेको छ ।

विश्वविद्यालयको शिक्षक तर्फको कूल दरबन्दी ७ हजार ९३८ रहेकोमा हाल ५ हजार ९४ जना शिक्षक मात्र कार्यरत छन् । बाँकी २ हजार ८४४ जना शिक्षकको पद अनिवार्य अवकाश लगायत विभिन्न कारण रिक्त रहेको छ ।

त्यसैगरी कर्मचारीतर्फ कूल ८ हजार १२४ स्वीकृत दरबन्दी रहेकोमा हाल ५ हजार ५०७ जना कर्मचारी मात्र कार्यरत छन् बाँकी २ हजार ६१७ कर्मचारीको पद रिक्त रहेको छ । उक्त रिक्त पदपूर्तिका लागि विज्ञापन आह्वान हुन नसक्दा त्रिविको दैनिक काम कारबाहीमा समेत असर पुगेको छ ।

त्रिवि सामान्य प्रशासन शाखामा ११४ जनाको दरबन्दी रहेकोमा अहिले उक्त शाखामा ७१ जना मात्र कर्मचारी छन् । उक्त शाखाका ४३ जना कर्मचारीले अनिवार्य अवकाश पाएर गएपछि ११४ जनाको काम ७१ जनाले गर्नुपरेको उक्त शाखाका एक कर्मचारीले बताए ।

अनिवार्य अवकाश लिएर शिक्षक, कर्मचारी जाने तर उक्त स्थानमा नयाँ पदपूर्ति हुन नसक्दा एकजना कर्मचारीले धेरै जिम्मेवारी सम्हाल्नुपर्ने अवस्था रहेको त्रिविका सूचना अधिकारी योगेन्द्रप्रसाद दाहालले फरकधारलाई बताए ।

उनका अनुसार यो समस्या आउनुको मुख्य कारण त्रिवि सेवा आयोग अध्यक्षविहीन बन्नु हो । रिक्त पदपूर्तिका लागि विज्ञापन आह्वान गर्ने जिम्मेवारी पाएको सेवा आयोग नै लामो समयदेखि अध्यक्षविहीन बनेका कारण समस्या देखिएको हो ।



सेवा आयोग अध्यक्षविहीन बन्नुको सिधा असर त्रिवि प्रशासनमा परेको छ । १८ साउन २०७९ मा तीन वर्षे कार्यकाल सकेर निर्वतमान अध्यक्ष लालुप्रसाद पौडेलले अनिवार्य अवकाश लिएपछि उक्त पद हालसम्म रिक्त छ । आयोग नै अध्यक्षविहीन भएपछि त्यहाँबाट सञ्चालन हुने दैनिक कामसमेत ठप्प भएका छन् ।

नेपाल सरकारले अध्यक्ष नियुक्त गर्न समयमा पहलकदमी लिन नसक्दा समस्यामाथि समस्या थपिएको त्रिविका कर्मचारी बताउँछन् । राजनीतिक खिचातानीकै कारण करिब १० महिनादेखि सेवा आयोगमा अध्यक्ष नियुक्त हुन नसकेको उनीहरूको भनाइ छ ।



आयोगमा अध्यक्ष नियुक्त गर्ने विषय बारम्बार विवादमा तानिएपछि तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेललको संयोकत्वमा गठित सिफारिस समितिले उक्त पदकालागि २८ भदौ ०७९ मा विज्ञापन खुला गरेर आवेदन माग गरेको थियो ।

शिक्षामन्त्रालयले ७ दिनको म्याद दिएर विज्ञापन आह्वान गरेको उक्त पदका लागि ३८ जनाले आवेदनसमेत दिएका थिए । तर आवेदकहरूको छनोट प्रक्रियाको टुंगो नलाग्दै सरकार परिवर्तन भएका कारण रोकिएको उक्त प्रक्रिया अझै अघिबढ्न सकेको छैन ।

उच्च शिक्षा अध्ययन गर्ने देशभरका करिब ७५ प्रतिशत विद्यार्थी पढ्न विश्वविद्यालय लामो समयदेखि पदाधिकारीविहीन बन्दा अध्ययन/अध्यापनमा समेत असर पुगेको छ ।

आयोगले के-के काम गर्छ ?

विश्वविद्यालयमा आवश्यक शिक्षक/कर्मचारीको पदस्थापन गर्नु नै त्रिवि सेवा आयोगको मुख्य जिम्मेवारी हो । रिक्त पद पूर्तिका लागि नयाँ विज्ञापन आह्वान गर्नु, कार्यदक्षताका आधारमा आन्तरिक बढुवा गर्ने, पदपूर्ति गर्दा लिइने परीक्षाका लागि पाठ्यक्रम तयार गर्ने लगायत काम आयोगले गर्दछ ।

तर आयोग नै लामो समयदेखि अध्यक्ष विहीन हुनपुग्दा ती सबै काम ठप्प बनेका छन् । सेवा आयोगले शिक्षकको नियुक्ति तथा बढुवा गर्दा प्राज्ञिक क्षमता र अनुभवलाई आधार बनाउने गरेको छ भने कर्मचारीको नियुक्ति तथा बढुवा गर्दा प्रशासनिक दक्षता तथा अनुभवलाई मुख्य आधार बनाउने गरेको छ ।

कसरी हुन्छ सेवा आयोगको नियुक्ति ?

सेवा आयोगको अध्यक्ष नियुक्ति गर्न सहकुलपति (शिक्षामन्त्री)को अध्यक्षतामा त्रिवि सभाका दुई जना सदस्यहरू रहेको एउटा समिति बनाइन्छ र उक्त समितिले सिफारिस गरेको व्यक्तिलाई नै कुलपति(प्रधानमन्त्री)ले आयोगको अध्यक्षमा नियुक्ति दिने कानुनी व्यवस्था रहेको छ ।

यसअघि भागबन्डामा त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्ति हुँदै आए पनि यसपटक तत्कालीन शिक्षामन्त्री देवेन्द्र पौडेलले विज्ञापन आह्वान गरेर अध्यक्षमा पदपूर्ति गराउने प्रयास गरेका थिए । तर उक्त प्रयासलाई पूर्णता दिन भने सकेनन् ।

उक्त विधिबाट अध्यक्ष नियुक्त गर्न सफल भएको भए पूर्वशिक्षामन्त्री पौडेलले त्रिवि स्थापनाको ६३ वर्षको इतिहासलाई ब्रेक लगाएर खुला प्रतिस्पर्धाबाट त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्त गर्न सफल हुने थिए । 

अध्यक्ष नियुक्तिबारे यसो भन्छ शिक्षा मन्त्रालय

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले त्रिवि सेवा आयोगको अध्यक्ष नियुक्तिको विषय प्रक्रियागत रूपमा अगाडि बढिरहेको जनाएको छ । शिक्षा मन्त्रालयको उच्च शिक्षा महाशाखा प्रमुख कृष्णप्रसाद काप्रीले अध्यक्ष नियुक्तिको विषय अगाडि बढिरहेको बताए । उनले भने, ‘प्रक्रियागत रूपमा काम अघि बढिरहेको छ ।’

यस्तै शिक्षा मन्त्रालयका सहसचिव एवं प्रवक्ता दीपक शर्माले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । नियुक्ति भएपछि मात्र आफूलाई जानकारी आउने भएकाले अहिले यो विषयमा के कस्ता कामहरू भइरहेका छन् भन्ने जानकारी नभएको उनले बताए । उनले भने, ‘ निर्णय भएर आएपछि जानकारी हुन्छ । प्रक्रियाबारे मलाई जानकारी हुँदैन ।’

  • प्रकाशित मिति : जेठ ५, २०८० शुक्रबार १७:४१:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया