सुदूरपश्चिम प्रदेश सरकारमा किन सहभागी भएन नागरिक उन्मुक्ति ?

सुदूरपश्चिम प्रदेश सरकार दोस्रोपटक विस्तार भएको छ । नेकपा माओवादीलाई सरकारमा समावेश गर्दै मुख्यमन्त्री कमलबहादुर शाहले आज शनिबार दोस्रोपटक मन्त्रिपरिषद विस्तार गरेका हुन् ।

२०७९ माघ २६ गते मुख्यमन्त्रीमा नियुक्त भएका शाहले २७ गते दुई सदस्यीय मन्त्रिमण्डल विस्तार गरेका थिए । सरकार गठन भएको सय दिन पूरा हुँदा मन्त्रिपरिषदलाई पूर्णता दिने नसकेका मुख्यमन्त्री शाहले दोस्रोपटकमा पनि मन्त्रिपरिषदलाई पूर्णता दिन सकेनन् ।

अहिले नेकपा माओवादी केन्द्रबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रमेश धामी, सामाजिक विकासमन्त्रीमा झपट साउद र उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्रीमा गीतादेवी माल र नेपाली कांग्रेसबाट आन्तरिक मामिला तथा कानुनमन्त्रीमा पृथ्वीबहादुर सिंह नियुक्त भएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीले प्रदेश प्रमुख देवराज जोशीबाट पद तथा गोपनीयताको शपथ लिएका छन् । राज्यमन्त्री माललाई मुख्यमन्त्री कमलबहादुर शाहले शपथ खुवाएका हुन् । प्रदेश प्रमुखको कार्यालयमा धनगढीमा आयोजित कार्यक्रममा नवनियुक्त मन्त्रीले शपथ लिएका हुन । 

यसअघि दुई मन्त्रालय नपाए सरकारमा सहभागी नहुने प्रतिक्रिया दिएको नागरिक उन्मुक्ति पार्टीले मन्त्रीका लागि नाम सिफारिस नै गरेन । मुख्यमन्त्री शाहले नागरिक उन्मुक्तिको सहभागिताविनै सरकार विस्तार गरेका हुन् । 

सर्वोच्च अदालतले नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको जन्मकैद सदर गरेपछि सो पार्टी केन्द्र र प्रदेश सरकारमा रहने कि नरहने भन्ने द्विविधामा छ । यद्यपि, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसदमा प्रश्नोत्तरका क्रममा चौधरीसहितका बन्दी रिहाइका लागि आवश्यक प्रक्रिया अघि बढाउने आश्वासन दिएपछि नागरिक उन्मुक्तिले आन्दोलनका कार्यक्रम स्थगित गरेको छ ।





  • प्रकाशित मिति : जेठ ६, २०८० शनिबार २०:५६:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया