लुम्बिनी प्रदेशका तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

लुम्बिनी प्रदेशमा नियुक्त भएका तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूले प्रदेश प्रमुख अमिक शेरचनसमक्ष शपथ लिएका हुन् ।

मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले सोमबार उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए । उनीहरूलाई प्रदेश प्रमुखको कार्यालय बुटवलमा शपथ दिलाइएकाे हाे ।  

लुम्बिनी प्रदेशकाे स्वास्थ्यमन्त्रीमा कांग्रेसबाट दाङ २ (१) का सांसद राजु खनाल, जनमत पार्टीबाट सामाजिक विकासमन्त्रीमा रुपन्देही ५(२) का चन्द्रकेश गुप्ता र जसपाबाट कृषि तथा भूमि व्यवस्था मन्त्रीमा बाँके २(१) का भण्डारीलाल अहिर नियुक्त भएका थिए । 

लुम्बिनीमा मुख्यमन्त्रीसहित १० मन्त्रालय छन् । तीन मन्त्रीको शपथसँगै लुम्बिनी प्रदेशमा ७ सदस्यीय मन्त्रिपरिषद गठन भएको छ । अझै तीन मन्त्रालय खाली छन् । 

८ दल र एक स्वतन्त्र प्रदेशसभा सदस्य गरी ५३ जनाको समर्थनमा दाङको ३ (१)बाट निर्वाचित चौधरी वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । मन्त्रालय भागबण्डा र आफ्नै पार्टी कांग्रेसभित्रको विवादले मन्त्रिपरिषद्‍ विस्तार रोकिएको थियो । 

यसअघि वैशाख १५ गते माओवादीका धनबहादुर मास्की, लोसपाका सन्तोषकुमार पाण्डेय र नागरिक उन्मुक्तिका धर्मबहादुर चौधरी मन्त्री नियुक्त भएका थिए । 
मुख्यमन्त्री चौधरीले सोमबार कांग्रेसबाट १, जनमतबाट १, जसपाबाट १ जना मन्त्री थप गरेका हुन् । 



माओवादीका मास्कीलाई यसअघि नै आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी दिइएको थियो । नागरिक उन्मुक्ति पार्टीका चौधरीलाई भौतिक पूर्वाधार विकासमन्त्री र लोसपाका पाण्डेयलाई सोमबारदेखि आन्तरिक मामिला, कानुन तथा सहकारी मन्त्रीको जिम्मेवारी दिएका छन् । 

माओवादीले बाँकेकी कृष्णा केसी र रोल्पाका दिपेन्द्र पुनलाई मन्त्री बनाउने निर्णय गरेर मुख्यमन्त्री चौधरी समक्ष सिफारिस गरिसकेको छ ।



  • प्रकाशित मिति : जेठ ८, २०८० साेमबार १७:४१:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया