नक्कली भुटानी शरणार्थी प्रकरण
सानु भण्डारीको बयान : राईको गाडीमा १ करोड राखे, क्वार्टरमै पुगेर थापालाई १ करोड बुझाएँ

नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका आरोपितहरूसँगको बयान लिने काम सकिसकेको छ । अहिलेसम्म यस प्रकरणमा पक्राउ परेका १६ जनासँगको बयान लिने कार्य सकिएसँगै जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले अदालतमा अभियोजन दर्ता गर्ने तयारी गरेको छ । 

अभियोजनका लागि गठित ८ सदस्यीय समितिले सोमबार प्रहरीले बुझाएको रायसहितको प्रतिवेदन अध्ययन गरी बुधबार अभियोजनपत्र दर्ता गर्ने तयारी गरेको हो । अभियोजनपत्र दर्ताअघि आरोपितसँगको बयान सञ्चारमाध्यममा सार्वजनिक भइरहेका छन् । 

आरोपितले दिएको बयानअनुसार यस प्रकरणमा थप केही उच्च ओहदामा रहेका व्यक्ति तानिने देखिएको छ । बयानका क्रममा आरोपितले नाम उल्लेख गरेपछि थप केही व्यक्ति यस प्रकरणमा तानिने सम्भावना बढेको हो ।

भुटानी शरणार्थी प्रकरणका प्रमुख योजनाकार भनिएका सानु भण्डारीले तत्कालीन गृहसचिव प्रेमकुमार राईको नाम लिएका छन् । भण्डारीले राईको गाडीमा १ करोड रुपैयाँ राखिदिएको कुरा बयान दिएका हुन् । बयानमा उल्लेख गरिएअनुसार त्यो घटना १० भदौ २०७६ को हो ।

राई हाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त हुन् । भण्डारीका अनुसार इन्द्रजीत राईले सचिवको गाडी देखाएका थिए ।

गाडीमा १ करोड राखेपछि भण्डारीलाई सचिवले आफ्नो कार्यकक्षमा बोलाएका थिए । त्यसपछि राईले ‘अब तपाईंहरूको काम हुन्छ, तपाईँहरू जानु’ भनेर विश्वास दिलाएको भण्डारीले बयानमा भनेका छन् ।



यस्तै, भण्डारीले तत्कालीन गृहमन्त्री रामबहादुर थापा बादलकी पत्नी नैनाकला थापालाई मन्त्री क्वार्टर पुलचोकमै पुगेर १ करोड रुपैयाँ बुझाएको पनि बयान दिएका छन् ।   

त्यस्तै, उनले टोपबहादुर रायमाझीलाई २८ असार २०७६ मा ललितपुरस्थित उनको घरमा गई १ करोड ६० लाख दिएको र बाँकी ४० लाख रुपैयाँ उनको छोरा सन्दीप रायमाझीलाई भुक्तान गरेको पनि बयानमा उल्लेख गरेका छन् । 



भण्डारीले २०७४ को वैशाखदेखि २०७४ को चैतसम्म ६९ लाख ६५ हजार ५०० रुपैयाँ सन्दीप रायमाझीलाई दिएको पनि स्वीकार गरेका छन् । रायमाझीले आफू र आफ्नो परिवारलाई समेत ‘भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु’ भनेकाले सो रकम दिएको भण्डारीको दाबी छ ।   

  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १०:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया