पूर्वराजा ज्ञानेन्द्र शाहको दुई सूत्र : नेपालीको नाडी छाम्ने, भारतको भर खोज्ने

नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न सोमबार धनगढी पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई हेर्न र सुन्न आउने मानिसको उपस्थिति बाक्लै थियो । स्थानीयले पूर्वराजालाई भव्य स्वागत पनि गरे ।

उपस्थितहरूले उनको पक्षमा नारा लगाउँदै बारम्बार ‘सरकार देश बचाउ’ भन्दै आग्रह गरिरहेका थिए । कार्यक्रममा उपस्थितिबाट न्यानो स्वागत पाएका पूर्वराजा शाहले नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्दै वर्तमान राजनीतिक दल र सरकारको आलोचना गर्नसमेत भ्याए ।  

उनले आजको टड्कारो अवस्थालाई राजनीतिक दल र सरकारले नदेखेको, नबुझेको जस्तो गरेर अलमल्याउने गरेको आरोपसमेत लगाए । ओठे जवाफ फर्काएर नेपाल र नेपालीको भविष्य नसप्रिने शाहको अभिव्यक्तिलाई उपस्थित जमातले तालीको डगडगाहटका साथ समर्थन जनाएको थियो  ।

उक्त कार्यक्रममा शाहले नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन खोजिएको विषयमा बोल्दा कार्यक्रममा उपस्थित केही युवाहरूले वर्तमान सरकार र नेतालाई राष्ट्रघाती भन्नसम्म भ्याएका थिए ।

धनगढीबाट सुर्खेत जानेक्रममा राजा ज्ञानेन्द्रले मंगलबार अत्तरिया चोकमा रहेको आफ्ना बुबा तथा स्वर्गीय राजा महेन्द्रको सालिकमा माल्यार्पण गर्नसमेत भ्याए ।

अत्तरिया चोकमा २०६२/०६३ को आन्दोलनका क्रममा भत्काइएको महेन्द्रको सालिक पुनः निर्माण गरेर एक वर्ष अगाडि अनावरण गरिएको थियो । पछिल्लो समय विभिन्न कार्यक्रममार्फत जनतासँगको भेटघाटलाई बाक्लो बनाएका पूर्वराजा शाहले जनताको नाडी छाम्न बेलाबखत विभिन्न शहरको भ्रमण गर्दै आएका छन् ।



नेपालमा राजतन्त्र चाहने मानिसको संख्या बढ्दै गएको कुरालाई गत मंसिर ४ मा भएको संघ तथा प्रदेशसभा निर्वाचनले पनि पुष्टि गर्छ । उक्त निर्वाचनमा राजन्तन्त्रको मुद्दा उठाइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्राप्त गरेको चुनावी नतिजाले पनि राजतन्त्र चाहने नेपाली नागरिकको संख्या बढेकोतिर संकेत गरेको हो । किनभने २०७४ को आमनिर्वाचनमा प्रदेशसभातर्फ ४ र संघीय सरकारको एक स्थानमा चुनाव जितेको राप्रपाले ४ मंसिर ०७९ को निर्वाचनमा उक्त संख्यालाई बढाएर प्रतिनिधिसभातर्फ १४ र प्रदेशसभातर्फ २८ बनाएको छ ।

यस्तै, पूर्वराजा शाहले सक्रियता बढाउनुका साथै जनताको माझ आफूलाई प्रस्तुत गर्ने अभियानलाई यसअघि गत १ फागुनमा पनि निरन्तरता दिएका थिए । झापाका ब्यवसायी दुर्गा प्रसाईको नेतृत्वमा आयोजना भएको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ’ महाअभियानमा पूर्वराजा शाहको पनि उपस्थिति थियो । 



मेडिकल अस्पताल सञ्चालक प्रसाईंको संयोजनमा गरिएको उक्त कार्यक्रममा सहभागिता जनाउन गएका पूर्वराजा शाहलाई हेर्न र सुन्न झापावासी नै उर्लिएर कार्यक्रमस्थल पुगेका थिए । यस्तै, शाहको बारम्बार भारत भ्रमणले आन्तरिकरूपमा केही चलखेल भइरहेको छ कि भन्ने शंकालाई बढावा दिएको छ । 

पूर्वराजा शाहले पछिल्लोपटक २७ वैशाखमा भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरे । मुख्यमन्त्री योगीले सुरुवातदेखि नै नेपालमा हिन्दु धर्मसहितको राजतन्त्र हुनुपर्ने पक्षमा वकालत गर्दै आएका छन् ।

करिब डेढ महिनाअघि भारतको सिलिगुडी हुँदै दार्जिलिङ पुगेका पूर्वराजा शाह पुनः परिवारका सम्पूर्ण सदस्यसहित २२ वैशाखमा १० दिनको भारत भ्रमण सकेर नेपाल आएका हुन् ।

नेपाल फर्किएलगत्तै नागरिक अभिनन्दन कार्यक्रमलाई सम्बोधन गर्न धनगढी पुगेका शाह यस्ता कार्यक्रमको आडमा नागरिकसँग जोडिन खोजिरहेको छन् । 

पूर्वराजा शाहको यस किसिमको सक्रियताबारे राजनीतिक दलहरू भने चुपचाप देखिन्छन् । राजनीतिक विश्लेषक हरि शर्मा पनि पूर्वराजाको यस किसिमको सक्रियताका विषयमा राजनीतिक दल र शीर्ष नेता मौन बस्नुलाई आश्चर्य मान्छन् । शर्माले फरकधारसँग भने, ‘पूर्वराजाको क्रियाकलापमा प्रतिक्रिया जनाउनुपर्ने राजनीतिक दलले हो । एकपटक एमालेका अध्यक्ष केपी शर्माले प्रतिक्रिया दिनुभयो त्यसपछि दिनुभएको छैन । अरू पार्टी चुप छन् । उनीहरू चुप बसेको कुरा मैले बुझ्न सकेको छैन ।’

तत्कालीन नेतृत्वले पूर्वराजा शाहलाई राजनीतिक विषयमा प्रतिक्रिया दिन नसक्ने गरी निषेध नगरेका कारण उनलाई बोल्ने मौका नेतृत्वले नै दिएको उनको भनाइ छ ।

पूर्वराजा शाहकोतर्फबाट ‘हिन्दू राष्ट्रको सम्बन्धमा जनमत संग्रह गर्नुपर्छ, राजतन्त्र फर्काउनुपर्छ भन्नेजस्ता विषय उठ्नु धमिलो पानीमा माछा मार्न खोजिएको जस्तो देखिएको’ राजनीतिक विश्लेषक शर्माको टिप्पणी छ । तर शर्मा भन्छन्, ‘स्वयम् राजगद्दी छोडेर नारायणहिटीबाट निस्किएको व्यक्तिले राजनीतिको धमिलो पानीमा माछा मार्न खोज्नु अनौठो कुरा हो ।’ 

‘राजा चाहिन्छ वा चाहिँदैन भन्न सक्ने अधिकार राजनीतिक दललाई भएपनि जनताको आन्दोलनबाट निष्क्रिय भएको व्यक्तिले धमिलो पानीमा मार्न खोजिरहेको छ भने त्यसलाई अहिलेको नेतृत्वले निषेध गर्न सक्नुपर्ने’ शर्माको बुझाइ छ । उनले भने, ‘पूर्वराजाका त्यस्ता क्रियाकलापलाई कि निषेध गर्न सक्नुपर्छ कि जनमत संग्रह गरौँ भन्ने ल्याकत अहिलेका राजनीतिक दलले राख्नुपर्छ ।’

‘नेपालको संविधानमा गणतन्त्र लेखेको छ । राजाले जनमत संग्रहबाट फर्काउनुपर्याे भन्ने अधिकार छैन,’ शर्माले भने, ‘पूर्वराजा कि राजनीतिक दलमा जान सक्नुपर्‍यो कि खुलेर आउनुपर्यो, धर्म वा आस्थाको नाममा जनतालाई दिग्भ्रमित गर्ने काम गर्नुभएन ।’ 

पूर्वराजाको सक्रियता : कस्तो छ राजनीतिक दलको बुझाइ ? 

पछिल्लो समय पूर्वराजा शाहले देखाएको सक्रियताले केही राजनीतिक दल र नेता झस्किएका छन् । एमाले सांसद रघुजी पन्तले तेस्रोपटक राजा हुने प्रयत्न नगर्न पूर्वराजा शाहलाई चेतावनी दिएका छन् । 

मंगलबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुराकानी गर्दै सांसद पन्तले उक्त चेतावनी दिएका हुन् । राजतन्त्र नेपालबाट बिदा भइसकेको भन्दै उनले राजतन्त्रको बिदाइ नेपाली जनताको चाहना भएको बताए ।

राजाले शान्तिपूर्ण रूपले गद्दी छाडेकोले राजनीतिक दलहरूले कुनै बदला नलिई शाहलाई देशको पूर्व राष्ट्राध्यक्षको रूपमा सम्मान र सुरक्षा दिएको उनको भनाइ छ ।

राजनीति गर्न संविधानले नरोकेको उल्लेख गर्दै सांसद पन्तले पूर्वराजा शाहलाई राजनीति गर्ने इच्छा भए पार्टी खोलेर चुनाव जितेर आउन सुझाव दिए ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले दलहरूको बीचमा विवाद भएकै कारण राजतन्त्र नफर्किने बताउँदै पूर्वराजा शाहको सक्रियताबाट तर्सिन नहुने बताए । यसैगरी नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले पूर्वराजाले नेपाली नागरिकका रूपमा हिँड्दा आफूहरूलाई कुनै चिन्ता नभएको बताए । 

नेपालको कानुन, संविधानको दायराभित्र रहेर कोही कहीँ घुम्दैमा लोकतन्त्र समाप्त नहुने उनको टिप्पणी छ । ‘राजा नेपाली नागरिक भएर हिँड्दा हामीलाई केही चिन्ता छैन । कसैले तर्साएर तर्सिँदैनौँ, कसैले तर्साउँदैमा तर्सिने लोकतन्त्र त्यति कमजोर छैन, एउटा नागरिक हिँड्दै आफ्नो कुरा राख्दैमा सबै तर्सेर भाग्नुपर्ने अवस्था छैन,’ खतिवडाले भने ।   

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनीष झाले राजनीतिक उपलब्धिलाई संस्थागत गर्न नसक्दा र दलहरूमा कमजोरी रहँदामसम्म केही तत्वहरू सलबलाइरहने बताए ।

पूर्वराजाको सक्रियतालाई स्वाभाविकरूपमा लिनुपर्ने बताउँदै उनले भने, ‘हाम्रो कमजोरी छ । हामीमा राजनीतिक संस्कारको कमी एकातिर छ भने अर्कोतिर प्राप्त उपलब्धिहरूलाई संस्थागत गर्न पनि सकिराखेका छैनौँ हामीले । त्यो कमजोरी रहेसम्म यस्ता तत्वहरू सक्रिय भइरहन्छन् ।’

  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १४:०:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया