प्रतिनिधि सभामा तीन महिनापछि सांसद भण्डारीको सम्बोधन, ग्यास प्रयोगको शिक्षा पाठ्यक्रममा राख्न माग

ग्यास जलनबाट घाइते भई लामो समयसम्म उपचार गराएका सांसद चन्द्रकान्त भण्डारीले आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफल जारी छ । 

यही जेठ ५ गते राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा पेस गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले जलनको उपचारका लागि सर्वसुविधासम्पन्न अस्पताल निर्माण गर्न माग गरे । गत पुस ३ गते ग्यास जलनबाट घाइते भइ भारतमा उपचार गराएर फर्केका भएका सांसद भण्डारीले देशभित्र सुविधासम्पन्न जलन अस्पताल निर्माण गर्न आग्रह गरे । 

उनले भने, ‘गाउँगाउँका बिजुली पुग्यो । गाउँगाउँमा बस पुग्यो । गाडीहरू गए । तर हामीले के गर्नु हुन्छ, के गर्नु हुँदैन ? भनेर हामीले पाठ्यपुस्तकमा पनि राख्न सकेनौँ । विश्वमा बसहरू बच्चाहरू स्कुल जाँदा कसरी क्रस गर्ने वा ग्याँस कसरी बाल्ने वा विजुली कसरी बाल्ने ? सानो बच्चाले पढ्न पाउँछन् विश्वका अरू देशहरूमा । तर हाम्रा विज्ञहरू, पाठ्यक्रम निर्माताहरू कसैलाई पनि यसबारेमा ध्यान भएन ।’

उनले आफू जलनको उपचारबाट फर्के लगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पनि यसबारेमा जानकारी गराएको बताए । उनले गत वर्ष ग्यासलगायतको जलनबाट एक सय १० जनाको ज्यान गएको जानकारी दिए । यस वर्षमात्रै हालसम्म एक सय ११ जनाको ज्यान गएको सांसद भण्डारीले तथ्यांक पेस गरे ।

उनले भने, ‘गाउँ–गाउँमा ग्यास र बिजुली पुग्यो । के गर्न हुन्छ र हुँदैन भनेर कोही कसैलाई पनि सिकाउन सकेनौ । ग्यास कसरी बाल्ने, बिजुली कसरी बाल्ने पाठ्यक्रम निर्माता, सबैले यसबारेमा तत्काल पहल गर्नु जरुरी छ ।’

सांसद भण्डारीले आफूलाई उद्धार गरेर हालको अवस्थामा ल्याउने वर्तमान सरकार र शुभचिन्तक सबैलाई धन्यवाद दिए । आफू उपचार गरेर आएको अस्पताल बाबु छोराले चलाएको र दक्षिण एसियाको सबैभन्दा उत्कृष्ठट रहेको भन्दै सांसद भण्डारीले मुलुकभित्र पनि त्यस्तै सुविधासम्पन्न अस्पताल निर्माण गर्न सरकारको पुनः ध्यानाकर्षण गराए ।



उनले पछिल्लो तीन वर्षमा तीन जना मात्रै भेन्टिलेटरमा पुगेर बाँचेर आएको उल्लेख गर्दै नेपालमा पनि राम्रा स्वास्थ्यकर्मी भएको बताए । हालसम्म जलनको उपचारका लागि कीर्तिपुरमा रहेको अस्पतालले धानीरहेको उल्लेख गर्दै उनले सरकारले दिने उपचार सहयोगमा जलनको बिरामीलाई पनि जोड्न माग गरे । 
    
उनले  खाना पकाउने ग्यासमा स्वचालित रेगुलेटर राख्ने व्यवस्था गर्न  र त्यसका लागि कानुन निर्माण गर्न पनि सभामुखमार्फत सरकारको ध्यानाकर्षण गराए । 

उनले जलनका विरामीहरूलाई पनि क्यान्सर रोग सरहनै आर्थिक सहयोग उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । गरिब मानिसहरू नै यसको बढि मारमा पार्ने भएकाले उनीहरूलाई पनि क्यान्सर, किड्नी रोगलाईजस्तै आर्थिक सहायता राज्यले उपलब्ध गराउनुपर्ने उनको तर्क थियो । 



सांसद भण्डारीले ग्याँस र विजुली जस्ता विषयबस्तु विद्यालय तहकै पाठ्यक्रममा समावेश गर्नुपर्ने आवश्यकता पनि औंल्याए । उनले आफू शौभाग्यबस बाँचेर संसदमा बोल्ने अवसर पाएको उल्लेख गर्दै नेपालका चिकित्सक र स्वास्थ्यकर्मीहरू विश्वका कुनै पनि चिकित्सकहरू भन्दा कम नभएको पनि बताए ।  

  • प्रकाशित मिति : जेठ १०, २०८० बुधबार १५:२६:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया