विजेतालाई २० करोड पुरस्कार
पाँचौंपटक आइपिएल च्याम्पियन बन्ने दाउमा चेन्नई, उपाधि रक्षाको योजनामा गुजरात

भारतमा जारी १६ औँ संस्करणको इण्डियन प्रिमियर लिग (आइपिएल) को फाइनल आज हुँदैछ । यसपटक फाइनलमा गत विजेता गुजरात टाइटन्स र चारपटकको च्याम्पियन चेन्नई सुपर किंग्स भिड्दै छन् । 

यी दुई टोलीबीचको फाइनल भिडन्त राति ७ः४५ देखि अहमदाबादस्थित नरेन्द्र मोदी स्टेडियममा सुरु हुनेछ । चेन्नई र गुजरातले पहिलोपटक फाइनलमा एकअर्काको सामना गर्न लागेका हुन् । 

पहिलो क्वालिफायरमा चेन्नईले गुजरातलाई १५ रनले हराउँदै फाइनलको यात्रा गर्‍यो । गुजरातले दोस्रो क्वालिफायर खेलमा मुम्बईलाई ६२ रनले हराउँदै फाइनलमा चेन्नईसँगको भेट पक्का गरेको हो ।   

नरेन्द्र मोदी स्टेडियममा गुजरात अगाडि 

हालसम्म नरेन्द्र मोदी स्टेडियममा गुजरातले ९ खेल खेलेको छ । जसमा उसले ६ मा जित र ३ खेलमा हारको सामना गरेको छ । चेन्नईले भने अहिलेसम्म यस मैदानमा जित निकाल्न सकेको छैन । ऊ आज विगत बिर्सिँदै पहिलोपटक नरेन्द्र मोदी स्टेडियममा जित प्राप्त गर्न चाहन्छ ।



चेन्नई आइतबार पाँचौंपटक उपाधि जित्दै मुम्बई इण्डियन्सको रेकर्ड बराबर गर्ने योजनामा पनि छ । मुम्बईले हालसम्म सर्वाधिक पाँचपटक आइपिएल ट्रफी उचालेको छ । 



गुजरात घरेलु मैदानको फाइदा उठाउँदै लगातार दोस्रोपटक आइपिएल उपाधि जित्ने रणनीतिमा छ । हेड टु हेडको कुरा गर्दा चेन्नईविरुद्ध गुजरात हाबी देखिन्छ । अहिलेसम्म ४ खेलमा एकअर्काको सामना गर्दा गुजरातले ३ खेल जितेको छ । 

चेन्नईले गुजरातलाई १ खेलमा मात्र हराउन सकेको छ । उसले यही सिजनको क्वालिफायरमा गुजरातलाई १५ रनले हराएको थियो । चेन्नई आज पनि गुजरातविरुद्ध आफ्नो लय कायमै राख्न चाहन्छ । गुजरात भने चेन्नईविरुद्ध क्वालिफायरको हारको बदला लिँदै उपाधि रक्षा गर्ने सोचमा छ ।  

गुजरातका खेलाडी उच्च लयमा   

जारी सिजनमा गुजरातका खेलाडीको प्रदर्शन उत्कृष्ट छ । उसका खेलाडी नै अहिले ओरेन्ज र पर्पल क्याप दौडको शीर्ष स्थानमा छन् । ब्याटिङतर्फ गुजरातका ओपनिङ ब्याटर शुभमन गिल ओरेन्ज क्याप दौडको शीर्षमा छन् । 

जारी सिजनमा उनले ३ शतक र ४ अर्धशतकसहित १६ खेलमा सर्वाधिक ८ सय ५१ रन बनाएका छन् । सानदार लयमा रहेका गिलले फाइनलमा पनि लय कायमै राखे गुजरात लगातार दोस्रोपटक आइपिएल च्याम्पियन बन्न सक्छ । 

यस्तै, पर्पल क्याप दौड अर्थात् सर्वाधिक विकेट लिने मामलाको शीर्ष तीनसम्म गुजरातका बलर रहेका छन् । शीर्ष स्थानमा रहेका मोहम्मद शामीले १६ खेलमा २८ विकेट लिएका छन् । यस्तै, दोस्रोमा रहेका राशिद खानले १६ मा २७ तथा तेस्रो स्थानमा रहेका मोहित शर्माले १३ खेलमा २४ विकेट हात पारेका छन् । 

चेन्नईको कुरा गर्दा तीव्र गतिका बलर तुषार देशपाण्डे यो सूचीको छैटौँ स्थानमा छन् । उनले १५ खेलमा २१ विकेट लिएका छन् । ब्याटिङतर्फ चेन्नईका डेभन कन्वे, ऋतुराज गायकवाड र शिवम दुबेले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् ।   

विजेतालाई कति पुरस्कार ? 

आइपिएल २०२३ को आइपिएल उपाधि जित्ने टिमले २० करोड भारु नगद पुरस्कार प्राप्त गर्नेछ । त्यस्तै, उपविजेताले १३ करोड, तेस्रो र चौथो हुने टोलीले ७–७ करोड भारु पुरस्कार पाउनेछन् ।  

यस्तै, सिजन अवधिभर सर्वाधिक रन बनाउने खेलाडी र सबैभन्दा बढी विकेट लिने खेलाडीले १५/१५ लाख प्राप्त गर्नेछन् । सिजनको उदीयमान खेलाडीलाई २० लाख भारु प्रदान गरिनेछ । यस्तै, सुपर स्ट्राइकरले पनि १५ लाख भारु पाउनेछन् ।   

जारी जिनको आइपिएलमा सबैभन्दा मूल्यवान खेलाडी, पावर प्लेयर, गेम चेन्जर र धेरै छक्का प्रहार गर्ने खेलाडीले १२/१२ लाख भारु पुरस्कार प्राप्त गर्नेछन् ।  

गुजरातको सम्भावित प्लेइङ–११ : शुभमन गिल, ऋद्धिमान साह (विकेटकिपर), हार्दिक पाण्ड्या (कप्तान), डेविड मिलर, राहुल तेवटिया, विजय शंकर, राशिद खान, नूर अहमद, मोहम्मद शामी, मोहित शर्मा र जोशुआ लिटल ।  

इम्प्याक्ट खेलाडी : साई सुदर्शन, श्रीकर भरत, ओडियन स्मिथ, आर साई किशोर र शिवम मावी ।

चेन्नईको सम्भावित प्लेइङ–११ : डेभन कन्वे, ऋतुराज गायकवाड, अजिंक्य रहाणे, शिवम दुबे, मोइन अली, रवीन्द्र जडेजा, महेन्द्र सिंह धोनी (कप्तान), दीपक चाहर, महेश थिक्क्षणा, मथिश पाथिराना र तुषार देशपाण्डे । 

इम्प्याक्ट खेलाडी: अम्बाती रायडु, मिचेल सान्टनर, एस सेनापति, शेख राशिद र आकाश सिंह ।  

  • प्रकाशित मिति : जेठ १४, २०८० आइतबार १०:४:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया