आज १६औँ गणतन्त्र दिवस, टुँडिखेलमा विशेष समारोह

विभिन्न कार्यक्रमको आयोजना गरी आज १६औँ गणतन्त्र दिवस मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट १५ जेठ २०६५ मा निरंकुश राजतन्त्रको विधिवत् अन्त्य गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भको घोषणा भएको दिनलाई गणतन्त्र दिवसको रूपमा मनाउने गरिएको छ ।

दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ भने सैनिक मञ्च टुँडिखेलमा विशेष समारोह आयोजना हुँदैछ । १९ माघ २०६१ मा राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नै हातमा लिएपछि आन्दोलनरत सात दल र तत्कालीन सशस्त्र युद्धरत नेकपा माओवादी बीच पूर्ण लोकतन्त्र स्थापनाका लागि १२ बुँदे समझदारी भएको थियो ।

२०६२ मङ्सिरमा १२ बुँदे समझदारीका माध्यमबाट तीन ध्रुवमा विभाजन भएका राजनीतिक शक्ति दुई ध्रुवमा आएपछि आन्दोलनले गति लियो । विसं २०६२ फागुनदेखि सुरु भएको निर्णायक आन्दोलनले चैतमा गति लियो । नयाँ वर्षसँगै लाखौँ जनता सडकमा आए । अन्तत: तत्कालीन राजा ज्ञानेन्द्र शाहले आन्दोलनरत दलको मार्गचित्र बमोजिम ८ जेठ २०५९ मा विघटन भएको संसद् पुनःस्थापना गर्न बाध्य हुँदै बैठकसमेत आह्वान गरे । 

४ जेठ २०६३ मा बसेको पुनर्स्थापित संसद्ले राजदरबारको अधिकार कटौती गर्दै राजसंस्थालाई निलम्बन गर्‍यो । बैठकले माओवादीलाई शान्ति प्रक्रियामा ल्याई संविधानसभा निर्वाचन गर्ने सङ्कल्प प्रस्ताव पारित गरेको थियो । यसलाई नेपाली म्याग्नाकार्टा पनि भनिन्छ ।

यसैको जगमा १८ चैत २०६४ पहिलो संविधानसभा निर्वाचन भयो । संविधानसभाको १५ जेठ २०६५ मा बसेको पहिलो बैठकले २४० बर्सेराजसंस्थाको विधिवत् अन्त्य गर्‍यो ।

पहिलो संविधानसभाले संविधान जारी गर्न नसके पनि धेरै काम गरेको थियो । ४ मंसिर २०७० मा भएको दोस्रो संविधानसभा निर्वाचनबाट निर्वाचित सभाले ३ असोज २०७२ मा सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भयो । 



संविधानबमोजिम तीनै तहको निर्वाचन सम्पन्न भई आन्दोलनको बलमा बनेको संविधान कार्यान्वयन भयो । सोहीअनुसार सङ्घीय, प्रादेशिक र स्थानीय सरकार शासन सञ्चालनमा छन् । 




  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ६:३८:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया