गणतन्त्रको उपलब्धिलाई रक्षा गरेर अघि बढ्न सभामुख घिमिरेको अपिल

सभामुख देवराज घिमिरेले गणतन्त्र प्राप्ति र त्यसका उपलब्धिलाई रक्षा गर्दै अघि बढ्न सरकार, राजनीतिक दल, प्रशासन संयन्त्र तथा आम नागरिकलाई अपिल गरेका छन् । 

१६ औँ गणतन्त्र दिवस को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति र समृद्धिका लागि शुभकामना व्यक्त गर्दै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकाससँगै देशको समृद्धि र सुशासन आजको प्रमुख आवश्यकता रहेको उल्लेख गरेका छन् ।  

‘हाम्रा आन्दोलनले व्यवस्थामा परिवर्तन ल्याए पनि अवस्थामा खासै परिवर्तन नभएको आम अनुभूति छ, नागरिकका विकासका चाहना, समृद्धिका अपेक्षा र सेवा प्रवाहका लागि अपेक्षित सहजता प्रदान गर्न अझै प्रयत्न गर्नुपर्ने आवश्यकता देखिएको छ भने सुशासनका पक्षमा निर्ममतापूर्वक काम गर्न जनताको प्रयत्न उत्तिकै बलशाली हुँदै गएको छ,’ सभामुख घिमिरेले सन्देशमा उल्लेख गरेका छन् ।  

उनले लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न आफ्नो अमूल्य जीवन बलिदान गर्ने सहिदहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै नेपालमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको सम्झनास्वरूप प्रत्येक वर्ष १५ जेठमा गणतन्त्र दिवसको रूपमा मनाउँदै आएको स्मरण पनि गरेका छन् ।  

सभामुख घिमिरेले लोकतान्त्रिक गणतन्त्र स्थापनाका लागि विभिन्न समयमा भएका आन्दोलनमा नेतृत्व गर्ने राजनीतिक दल, राजनीतिक कार्यकर्ता, नागरिक समाज एवं आम जनसमुदायको योगदानको पनि स्मरण गरेका छन् । नेपालमा प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्रका लागि पटक–पटक आन्दोलन भएको भन्दै उनले आन्दोलनको जगमा बनेको संविधानसभाले निर्माण गरेको सङ्घीयतासहितको संविधान कार्यान्वयन भइसकेको उल्लेख गरेका छन् ।  

सभामुख घिमिरेले राजनीतिक आन्दोलनबाटै वंश परम्पराको शासन अन्त्य भएको र शासन सत्ता जनताको हातमा आएको पनि उल्लेख गरेका छन् ।  
 






  • प्रकाशित मिति : जेठ १५, २०८० साेमबार ७:४७:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया