सन्दीप लामिछानेविरुद्धको मुद्दाको पेस आज

नेपाली क्रिकेट टोलीका प्रमुख बलर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दाको सुनुवाइ आजका लागि तोकिएको छ । पछिल्लोपटक न्यायाधीश फणिन्द्रप्रसाद पराजुलीको इजलासले यसअघि मगाएको कागजमा प्रष्टता नदेखिएको उल्लेख गर्दै पुनः पीडित किशोरीको जन्म दर्तासम्बन्धी कागज मगाउन माग गर्ने आदेश गरेको थियो ।   

लामिछानेका कानुन व्यवसायीले सुरुदेखि नै जाहेरवालाको जन्ममितिलाई मुल मुद्दाका रुपमा पेस गर्दै बहस गरेका छन् । जाहेरवालाको नागरिकतामा उल्लेख जन्ममितिअनुसार उनी नाबालिग हुन् । तर, लामिछानेका कानुन व्यवसायी विद्यालय सर्टिफिकेट तथा जन्मदर्तामा उल्लेख भएको जन्ममिति अनुसार जाहेरवाला बालिग ठहर्ने बताउँछन् ।   

मुद्दामा यही विषयको टुंगो नलाग्दा पटकपटक अन्तिम सुनुवाइका लागि पेसी तोकिए पनि सुनुवाइ स्थगित भएको थियो । सन्दीपविरुद्ध गत वर्षको २१ भदौमा एक किशोरीले बलात्कारको उजुरी दर्ता गरेकी थिइन् ।

जाहेरी दर्ता हुँदा लामिछाने क्यारेबियन प्रिमियर लिग खेल्नका लागि वेस्ट इन्डिजमा थिए । उनी पक्राउ पुर्जी जारी भएको एक महिनापछि २१ असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए । 

पक्राउ परेपछि उनलाई प्रहरी हिरासतमा राखी अनुसन्धान गरिएको थियो ।  लामिछानेलाई नाबालिग बालिकालाई बलात्कार गरेको अभियोगमा दफा २१९ को उपदफा ३ (घ) अनुसार १० देखि १२ वर्षसम्मको कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग गरिएको छ । 

मुद्दा दायर भएसँगै उनलाई न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेश पाटन उच्च अदालतले उल्टाउँदै लामिछानेलाई विदेश जान नपाउने सर्तसहित २० लाख धरौटीमा रिहा गर्‍यो ।   



उच्च अदालतको उक्त आदेश सदर गर्दै सर्वोच्च अदालतको न्यायाधीशद्वय सपना प्रधान मल्ल र कुमार चुडालको इजलासले उनलाई क्रिकेट खेल्न विदेशसमेत जान मिल्ने गरी धरौटीमा छाड्ने आदेश दिएको थियो । 



  • प्रकाशित मिति : जेठ १६, २०८० मंगलबार ७:५२:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया