logo-img

सुर्तीजन्य पदार्थ : नियमन न नियन्त्रण, प्रतिबन्ध त टाढाको कुरा
नेपालमा ४८ लाख मानिसले सेवन गर्छन् सुर्तीजन्य पदार्थ

सन् २००४ मा भुटान सुर्तीजन्य पदार्थको बिक्रीमा प्रतिबन्ध लगाउनले विश्वको पहिलो राष्ट्र बन्यो । उसले सबै सार्वजनिक स्थानमा धूम्रपान निषेध गर्यो । त्यसपश्चात् जुन २०१० मा भुटानले सुर्तीको बिक्री वा तस्करीलाई प्रतिबन्ध लगाएर विश्वको सबैभन्दा कडा सुर्तीजन्य विरोधी कानुन लागू गर्यो ।

यस्तै, उरुग्वेले मार्च २००४ मा रेस्टुरेन्ट, बार र कार्यस्थललगायत सार्वजनिक स्थानहरूमा धूम्रपान निषेध गर्ने पहिलो ल्याटिन अमेरिकी राष्ट्र बन्यो ।

यस्तै, हालसालै छिमेकी राष्ट्र भारतले पनि राजधानी दिल्लीमा सुर्तीजन्य पदार्थ, पान मसाला, गुटलगायतको उत्पादन, भण्डारण, वितरण वा बिक्रीमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । 

सुर्तीजन्य पदार्थको सेवनले स्वास्थ्यमा प्रतिकूल असर पारिरहेकाले विश्वमा धेरै राष्ट्रले यसको प्रतिबन्ध, नियमन र नियन्त्रणका लागि निरन्तर प्रयास गरिरहेका छन् । तर, नेपालमा भने जसलाई जतिबेला मन लाग्यो, त्यतिबेला पसलमा गएर सुर्तीजन्य पदार्थ खरिद गरी सेवन गर्न सर्वत्र छुट छ भन्दा फरक पर्दैन ।

२०४३ मा स्थापना भएको सूर्य नेपालले अहिले बजार तताइरहेको छ । सूर्यका साथै अहिले क्याप्टेन, साहसी, शिखर, पाइलट, सान, शिखरआइस, शिखर सेलेक्ट, खुकुरी, सूर्यलाइट, नौलो, सूर्यआटिक आदि चुरोट बढी चलेका छन् । सुर्तीजन्य पदार्थमा करेन्ट, भोला, रजनीगन्धा, शुद्ध प्लस, मेघाश्रीलगायत उत्पादन पनि बजारमा बिक्री वितरण भइरहेको छ । सुर्तीजन्य पदार्थको सेवनको न्यूनीकरणभन्दा पनि विकास भइरहेको छ ।

टोबाको एटलस अन्तर्राष्ट्रिय प्रकाशनअनुसार सुर्तीजन्य वस्तुको नियमन तथा नियन्त्रणमा नेपाल दक्षिण एसियामै सबैभन्दा कमजोर छ । यस्ता यस्ता वस्तु यहाँ अन्य देशमा भन्दा सहजै उपलब्ध हुन्छन् । भारत तथा श्रीलंका, भुटानको दाँजोमा चुरोटको मूल्य नेपालमा आधै सस्तो छ । 



सुर्तीजन्य पदार्थमा हरकोहीको सहजै पहुँच हुँदा नेपालमा ४८ लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेको नेपाल विकास अनुसन्धान प्रतिष्ठानको तथ्यांकले देखाएको छ । नेपालमा समयमै सुर्तीजन्य पदार्थको नियमन, नियन्त्रण तथा प्रतिबन्धतिर गइएन भने यसले विकराल रूप लिने चिकित्सकहरूको भनाइ छ । 

सम्भव होला त सुर्तीजन्य पदार्थमा प्रतिबन्ध ?



अमेरिकाले सन् १९२० देखि १९३३ सम्म मदिराको (रक्सी, बियर, वाइनलगायत मदिराजन्य पेय पदार्थ) उत्पादन, ढुवानी, आयात तथा बिक्री वितरणमा राष्ट्रव्यापी प्रतिबन्ध लगायो । 

तर, अमेरिकाले धार्मिक, घरायसी तथा औषधिको रूपमा मदिरा प्रयोग गर्न भने छुट दिएको थियो । उक्त संशोधनले देशमा मदिरा उत्पादक, ब्रोकर, थोक तथा खुद्रा व्यापारीको इजाजत–पत्र खारेज गरेको थियो । प्रारम्भिक लक्षण सकारात्मक देखिएको थियो । मदिराजन्य गिरफ्तारीमा कमी आएको थियो । मदिरा सेवनमा ३० प्रतिशतले कमी आएको अनुमान गरिएको थियो । तर, जो मदिरा पिउन चाहन्थे उनीहरू पहिलाभन्दा अत्यधिक धेरै पिउन थाले ।

अमेरिकनहरू मदिरा पिउन चाहन्थे, त्यसैले मदिरा निषेधको विरोध विस्तारै सुरु हुन थाल्यो । जुन उद्देश्यले मदिरामा प्रतिबन्ध लगाइएको थियो, ती उद्देश्य पूरा त भएनन् । तर, उल्टै भ्रष्टाचार, हत्या, हिंसा, अराजकता, चोरी, अपराध, कालोबजारी, महँगी बढ्यो । अन्ततः अमेरिकामा उक्त निर्णय लामो समयसम्म टिक्न सकेन र सन् १९३३ मा मदिरामा लगाइएको प्रतिबन्ध फुकुवा गरियो । 

उल्लेखित उदाहरणले मदिरामा प्रतिबन्धले प्रतिफल भने सोचअनुसार नआएको देखाएको छ । नेपालमा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउनुपर्छ भनेर सरोकारवालाले बेलाबखत आवाज उठाइरहेको सुनिन्छ । तर, नेपालमा सुर्तीजन्य पदार्थमा प्रतिबन्ध लगाउन असम्भवजस्तै रहेको फिजिसियन तथा स्वास्थ्य सेवाविद् डा. किरण पाण्डे बताउँछन् । उनी भन्छन्, ‘असम्भव भन्ने केही हुँदैन, तर प्रतिबन्ध लगाइहाले पनि भारतसँग खुला सीमाका कारण गैरकानुनी तवरले नेपालमा सुर्तीजन्य पदार्थ भित्रिने सम्भावना अत्यधिक छ । सुर्तीजन्य पदार्थको सेवन गर्ने मानिसले जसरी पनि सेवन गर्छ । त्यसैले यसलाई प्रतिबन्ध लगाउनेतर्फ भन्दापनि सरकारले यसको नियमन र नियन्त्रणमा कडाइ गर्नुपर्ने देखिन्छ ।’

‘सुर्तीजन्य पदार्थमा सरकारले नियमन तथा नियन्त्रण नगर्दा जुन प्रतिफल आइरहेको छ, त्यो आगामी दिनमा झन् विकराल रूप लिने देखिन्छ,’ भक्तपुर क्यान्सर अस्पतालका मेडिकल अंकोलोजिस्ट डा. रोशन प्रजापति भन्छन्, ‘सुर्तीजन्य पदार्थको सेवनले बर्सेनि ३७ हजार मानिसले ज्यान गुमाउँदा बेलाबखत सुर्तीजन्य पदार्थलाई प्रतिबन्ध लगाउनुपर्नेसम्मका आवाज नउठेका पनि होइनन् । तर, सरकारले सामान्य नीति, नियमलाई सही तरिकाले नियमन गर्न सक्दैन । प्रतिबन्ध लगाउने कुरा त परको कुरा भयो ।’

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा सुर्तीजन्य पदार्थको सेवनले घण्टामा ४ जनाले ज्यान गुमाउँछन् । सार्वजनिक स्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण गर्न कानुनले रोकेको छ । तर, सार्वजनिक स्थलमा खुलेआम सुर्तीजन्य पदार्थको बिक्री वितरण तथा सेवनमा भने कुनै रोक छैन । 

सुर्तीजन्य पदार्थको सेवनले विभिन्न खालका नसर्ने किसिमको रोग जस्तै फोक्सोको क्यान्सर, श्वास प्रश्वाससम्बन्धी रोगसँगै मुटुरोग लाग्ने चिकित्सक बताउँछन् । नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा ४८ लाख मानिसले सुर्तीजन्य पदार्थको सेवन गर्छन् । जसका कारण ३७ हजार ५२९ जनाको बर्सेनि मृत्यु हुने गरेको छ । सुर्तीजन्य पदार्थको सेवनले मानिसको स्वास्थ्यमा प्रतिकूल असर पारिरहेको भए पनि सरकार भने यसको नियमन तथा नियन्त्रणमा मौन देखिन्छ । सुर्तीजन्य पदार्थको नियमन र नियन्त्रण सरकारले जुन भूमिका खेल्नुपर्ने हो, त्यो भूमिका खेल्नबाट सरकार चुकेको सरोकारवालाको भनाइ छ । 

‘सुर्तीजन्य पदार्थमा प्रतिबन्ध गर्न नसक्नु समस्या होइन, तर यसलाई निरन्तरता दिन सकिन्छ कि सकिँदैन ? प्रतिबन्ध गर्न चाहिने स्रोत, साधन मात्रा पनि धेरै हुन्छ, जसले राष्ट्रलाई आर्थिक भार पर्छ,’ डा. पाण्डे भन्छन्, ‘संसारभर गरिएका विभिन्न अध्ययन तथा अनुसन्धानको निष्कर्षले सुर्तीजन्य पदार्थलाई प्रतिबन्ध लगाउन नसकिने देखिएको छ । जसको उदाहरण अमेरिकालाई पनि लिन सकिन्छ । सरकारले प्रतिबन्ध लगाए पनि गैरकानुनी रूपमा सेवन गर्नेको संख्या बढ्न सक्ने सम्भावना छ ।’

नियमन जरुरी, तर सरकार मौन 

नेपाल विकास अनुसन्धान प्रतिष्ठानका अनुसार नेपालमा १५ देखि ५९ वर्षका २८.९ प्रतिशत व्यक्तिले सुर्तीजन्य पदार्थको सेवन गर्ने गरेका छन् । पछिल्लो समय किशोर–किशोरीमा सुर्तीजन्य पदार्थको सेवन मोह अत्यधिक रहेको चिकित्सकहरू बताउँछन् । यसलाई सरकारले समयमै व्यवस्थापनतिर ध्यान दिन आवश्यक रहेको स्वास्थ्यविज्ञहरूको भनाइ छ । 

‘सुर्तीजन्य पदार्थलाई दुई तरिकाले व्यवस्थापन गर्न सकिन्छ । एउटा, पहुँचबाट टाढा पुर्याउने अर्को कर बढाउने,’ डा. पाण्डे भन्छन्, ‘सुर्तीजन्य पदार्थलाई महँगो बनाएपछि लत बसिसकेका मानिसले पहिलेको तुलनामा कम सेवन गर्छन् । खपत पनि कम हुन्छ । त्यसभन्दा पनि महत्वपूर्ण कुरा किशोर–किशोरीले खाजा खाने पैसाले सुर्तीजन्य पदार्थको सेवन गरिरहेका छन् । सुर्तीजन्य पदार्थमा कर बढाउँदा उनीहरूले सुर्तीचुरोटको सेवन कम गर्दै जान्छन् ।’

उनका अनुसार अहिले ५० रुपैयाँमा उपलब्ध हुने चुरोटलाई ५०० सय पुगेपछि किशोर–किशोरले सेवन गर्ने संख्यामा कमी आउँछ । सुर्तीजन्य पदार्थमा नियमन तथा नियन्त्रण गर्न सरकारले चुरोटलाई खिल्लीमा बेच्न प्रतिबन्ध लगाउने नियम ल्याउन आवश्यक रहेको उनको तर्क छ । 

‘नेपालबाहेक अन्य राष्ट्रमा खिल्लीमा बेच्न पाइँदैन,’ उनी भन्छन्, ‘भारत, बंगलादेशले गर्न सक्ने हामीले गर्न नसक्ने भन्ने हुँदैन । सरकारले पनि यसलाई गम्भीर रुपमा नलिँदा पनि समस्या निम्तिरहेको छ ।’ जनचेतनाको कमीका कारणले पनि यसको नियन्त्रण र नियमनमा कमी आएको उनको बुझाइ छ । 

  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया