नेपालले सोध्ने प्रश्न धेरै छन्, भारतले जवाफ दिन्छ ?
परिणाम निकाल्न सके नेपालका लागि अवसर

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चारदिने भ्रमणका लागि आज भारत प्रस्थान गरेका छन् । प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्डले आफ्नो पहिलो विदेश भ्रमणको गन्तव्य भारतलाई बनाएका हुन् । उनको यो भ्रमणलाई विभिन्न क्षेत्रका विज्ञहरूले आ–आफ्नै तवरले अथ्र्याइरहेका छन् ।

धेरैले प्रधानमन्त्रीको भारत भ्रमणलाई सकारात्मक रूपमा टिप्पणी गरिहेका छन् भने केहीले प्रधानमन्त्रीको पहिलो विदेश भ्रमण भारतबाट नै किन भनेर आशंकायुक्त प्रश्न पनि गरिरहेका छन् । भारत भ्रमणलाई लिएर उठेका सकारात्मक र नकारात्मक टिप्पणीलाई थाती राखेर मंगलबार दिउँसो १ बजे प्रधानमन्त्रीसहितको जम्बोटोली भारत पुगिसकेको छ ।

यसअघि नेपालका प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा गरेका कमीकमजोरी यसपटक प्रधानमन्त्री प्रचण्डले पनि दोहोर्याउँछन् कि भन्ने आशंकासँगै भारत र नेपालबीचको केही तनाव कम गर्न यो भ्रमण कोसेढुंगा साबित हुन सक्छ कि भन्ने अपेक्षा पनि राखिएको छ ।

प्रधानमन्त्रीको यसपटकको भ्रमणमा लगिएको एजेण्डामा लामो समयदेखि विवादमा रहेको सीमा क्षेत्रदेखि नेपालले आफ्नो हित देखेको हवाई रुट, विद्युत् बिक्रीलगायतका विषयमा सहमति गर्ने एजेण्डा छ ।

भारतले विभिन्न समयमा देखाएका व्यवहार र प्रवृत्तिले पनि उसले आफ्नो स्वार्थविना कुनै सहमति गर्छ भन्ने प्रश्नमा आंशका गर्ने ठाउँ प्रशस्तै छन् । विगतमा नेपालका प्रधानमन्त्रीले गरेका भ्रमणका नजिरहरु पनि नेपालकालागि खासै उत्साहजनक छैनन् ।

प्रधानमन्त्री प्रचण्ड र उनीसँग गएका पाँचजना मन्त्री तथा कर्मचारीतन्त्रका विज्ञसहितको जम्बोटोलीले भारत भ्रमणलाई नेपालका लागि परिणामदायक बनाउन सक्छन् कि सक्दैनन् भन्ने कुरा हेर्न धेरै दिन कुर्नुपर्दैन । प्रधानमन्त्रीसहितको टोली २० जेठमा स्वदेश फर्किंदै छन् । 



नेपालले बोल्न सक्नुपर्छ : दीपकुमार उपाध्याय, पूर्वराजदूत

यसरी वान टु वान वार्ता गर्ने मौका थोरै मात्र मिल्ने भएका कारण नेपालले आफ्नो कुरा भारतसमक्ष स्पष्ट रूपमा राख्नसकेको खण्डमा केही हदसम्म भए पनि समस्या समाधान हुनसक्ने पूर्वराजदूत दीपकुमार उपाध्याय बताउँछन् ।



नेपाल र भारतबीच विभिन्न समस्या रहेको, तर यी समाधानका लागि विभिन्न समयमा भएका सहमति र तीनको कार्यान्वयनको विषयलाई नेपाल आफ्नो पक्षबाट प्रस्ट रूपमा राख्न सक्नुपर्ने उनको भनाइ छ । परिणाम निकाल्न सकेमा कूटनीतिक भ्रमणलाई जहिले पनि अवसरको रूपमा लिइने गरेको उनले बताए । उच्च तहको भेटघाट सधैँ नहुने भएकाले यो नेपाल र भारत दुवैका लागि अवसर भएको उनको भनाइ छ ।

अहिलेसम्म नेपाल र भारतबीच के–के गर्ने सहमति भएको थियो त्यो गरे/नगरेको कुरा भन्न सक्ने अवसर यो भेटघाटले दुवै पक्षलाई दिने उनले बताए । उनका अनुसार बंगलादेशलाई भारतले व्यापार सहजीकरण गर्ने भनेको १० वर्ष भयो, बंगलादेश पनि भुटान र नेपालको ऊर्जा लिन चाहन्छ । तर, भारत आफैँले किन्छु भन्छ किन्दैन यी कुरालाई नेपालले भन्न सक्नुपर्छ ।

नेपालले सीमामा अहिले अन्तर्राष्ट्रिय स्तरको विन्दुहरू बनाउँदै छ । त्यसमा पनि आफ्नै किसिमका समस्या रहेको उल्लेख गर्दे उनले त्यसलाई समाधान गर्न नेपालले पहल गर्न सक्नुपर्ने बताए । उनले भने, ‘नेपालले उत्पादन गरेका सामान अनेक बहानामा फर्काइन्छ, भारतको जे पनि नेपालमा आउने गर्छ । भारतले व्यवहारमा अन्तर्राष्ट्रि कानुनको वास्ता गर्दैन । नेपालको सार्वभौमसत्तालाई मुखले सम्मान गर्छ, तर व्यवहारमा लागू नगरेको यथार्थ हो । यसमा हामी कति गर्न सक्छौँ । त्यो नै हाम्रो कुटनीतिक चेतनाको परिपक्कवता हो ।’

भारतले अन्तराष्ट्रिय कानुन मान्नुका साथै नेपाललाई स्वतन्त्र राष्ट्रको रूपमा व्यवहार गर्नुपर्ने उनको भनाइ छ । नेपालले पाउनुपर्ने कोसी र गण्डकी नदीको पानी अहिलेसम्म पाउन सकेको छैन । यस्ता कुरामा नेपालले बोल्न सक्नुपर्ने उनले बताए । भारतसँग धेरै कुरा कागजमा सहमति भए पनि व्यवहारमा नभएका कारण त्यसलाई कार्यान्वयन गर्नेतर्फ नेपाल लाग्नुपर्ने पूर्वराजदूत उपाध्यायको सुझाब छ । 

उनले भने, ‘बोलेको कुरा कति नेपालले गरेन भारतले बोलोस् । कति भारतले गर्छु भनेको कुरा गरेन नेपालले भन्नुपर्छ । नत्र दोषारोपण गर्नेबाहेक अरू केही उपलब्धि हुँदैन ।’

यस्तो छ प्रधानमन्त्रीको भारत भ्रमणको कार्यतालिका

प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा द्विपक्षीय हित र चासोबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग छलफल हुनेछ । भ्रमणका क्रममा विद्युत् व्यापार, प्रसारण लाइन निर्माण, एकीकृत जाँच चौकीको उद्घाटन गर्नेलगायत कार्यसूची तय भएको छ ।

यस्तै, नेपालको ऊर्जा तथा जलविद्युत्को क्षेत्रमा भारतीय लगानी प्रवद्र्धन गर्ने, व्यापार तथा पारवहन एवं हवाईमार्गका बारेमा छलफल हुने जनाइएको छ । नेपालले भ्रमणका क्रममा दीर्घकालीन रूपमा विद्युत व्यापारको विषयलाई प्राथमिकताका साथ अगाडि सारेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

हरेक वर्ष नवीकरण गर्नुपर्ने र सुरुदेखि नै प्रक्रिया अगाडि बढाउनुपर्ने भएकाले त्यसमा प्रक्रियागत झन्झट रहँदै आएको छ । यसैगरी, नेपालले बंगलादेशमा विद्युत् व्यापारका लागि मार्गप्रशस्त गर्नसमेत भारतलाई आग्रह गर्दै आएको छ । उक्त विषयलाई टुंगोमा पुर्याउने सोचमा प्रधानमन्त्री प्रचण्ड छन् ।

बंगलादेशले तत्काल ५० मेगावाट बिजुली लैजाने यसअघि नै सहमति गरिसकेको छ । भ्रमणका क्रममा हवाईमार्गको सुनिश्चितता विषयमा दुई देशका सरकार प्रमुखले छलफल गरेर निष्कर्षमा पुर्याउने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रधानमन्त्री नेतृत्वको सरकारी प्रतिनिधिमण्डलका अलावा उद्योगी व्यवसायी र सञ्चारकर्मी पनि भ्रमण दलमा सहभागी छन् । आज साँझ केही महत्वपूर्ण भेटवार्ताको कार्यक्रम तय भएको बताइएको छ ।

यसैगरी भोलि जेठ १८ गते प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच उच्चस्तरीय भेटवार्ता हुनेछ । दुई देशका प्रधानमन्त्रीको भेटवार्तापछि संयुक्त पत्रकार सम्मेलन आयोजना गर्ने कार्यतालिका तय भएको छ । हैदरावाद हाउसमा नै केही सहमतिपत्र र समझदारीपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम तय भएको छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मू र उपराष्ट्रपति जगदीप धनखडसँग शिष्टाचार भेटवार्ता गर्नेछन् ।

उनले नेपाल उद्योग वाणिज्य महासंघ र भारतीय उद्योग परिसंघले संयुक्त रूपमा आयोजना गर्ने एक अन्तक्र्रियात्मक कार्यक्रमलाई सम्बोधन गर्ने र व्यवसायीसँग अन्तक्र्रिया गर्ने कार्यक्रमसमेत तय भएको छ । प्रधानमन्त्री दाहालले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नेछन् ।

भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले भारतको मध्यप्रदेशस्थित उज्जैन र इन्दौरको समेत भ्रमण गर्ने कार्यसूची छ । पारवहन सन्धि नवीकरण र दुई देशबीच थप पेट्रोलियम पाइप लाइन विस्तारका विषयमा सहमति हुने जनाइएको छ ।

यस्तै, सिलीगुडी चारआली पाइप लाइन र टर्मिनल ट्यांक निर्माण, अमलेखगञ्ज लोथरसम्मको पाइप लाइन र स्टोरेज टर्मिनल ट्यांक निर्माणका बारेमा सहमति हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । भैरहवामा एकीकृत भन्सार चौकीको शिलान्यास गर्ने र नेपालगन्जमा एकीकृत भन्सार चौकीको दुवै देशका प्रधनमन्त्रीले संयुक्त रूपमा उद्घघाटन गर्ने कार्यक्रम रहेको छ । 

कञ्चनपुरको दोधरा चाँदनी क्षेत्रमा सुक्खा बन्दरगाह निर्माण, जुट निर्यातमा लगाइएको एन्टिडम्पिङलगायत विषय र नेचुरल ग्यास ल्याएर नेपालमा रासायनिक मल कारखाना राख्ने विषयमा छलफल चल्नेछ ।

  • प्रकाशित मिति : जेठ १७, २०८० बुधबार १८:२५:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया