\
नेकपा (एमाले) ले केन्द्रीय उपाध्यक्षहरूलाई विभागको संयोजनको जिम्मेवारी निर्धारण गरेको छ ।
शुक्रबार च्यासलस्थित पार्टी कार्यालयमा बसेको केन्द्रीय सचिवालयको बैठकले पार्टीका सातजना उपाध्यक्षलाई विभागहरूको कामको संयोजनको जिम्मेवारी निर्धारण गरिएको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार उपाध्यक्षहरूले विभागीय कामको संयोजन गरेर नीति बनाउन योगदान दिनेछन् । ‘उहाँहरूले नीति बनाउने ठाउँमा नीति तर्जुमा गर्नुहुनेछ । सरकारलाई दबाब दिनुपर्ने ठाउँमा दबाब पनि दिनुहुनेछ । विज्ञहरूसँग परामर्श गर्नुपर्नेलगायतका कामहरू गर्नुहुनेछ,’ ज्ञवालीले भने ।
त्यसमध्ये योजना र नीतिसँग जोडिएका कामहरूको नेतृत्व वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले गर्नेछन् । पूर्वाधार विकास र निर्माणसँग जोडिएका विभागहरूको कामको नेतृत्व सुरेन्द्र पाण्डेले गर्नेगरी जिम्मेवारी तोकिएको ज्ञवालीले जानकारी दिए ।
उनका अनुसार कृषि तथा उद्यमशीलतासँग जोडिएका विभागहरूको कामको संयोजन रामबहादुर थापा बादलले गर्नेछन् । सामाजिक विकाससँग गाँसिएका विभागको कामको संयोजन अष्टक्ष्मी शाक्यले गर्ने गरी जिम्मेवारी दिइएको छ ।
मानव स्रोतसँग जोडिएका विभागहरूको संयोजन गर्ने जिम्मा युवराज ज्ञवालीले पाएका छन् । सुशासन र सेवा प्रवाहसँग जोडिएका विभागको कामको नेतृत्व सुवास नेम्वाङले गर्नेछन् ।
संगठन, प्रशिक्षण र प्रचारसँग जोडिएका विभागहरूको कामको संयोजन विष्णु पौडेलले गर्ने गरी जिम्मेवारी बाँडफाँट गरिएको उपमहासचिव ज्ञवालीले जानकारी दिए ।
एमालेमा ३२ वटा विषयगत विभागहरू छन् ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई news@farakdhar.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, टिकटक, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।