इस्लामावाद– पाकिस्तानी जनता यतिखेर प्रधानमन्त्री इमरान खानलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने माग गरिरहेका छन् । आफैँमाथि आक्रमण गर्न आफ्नो हवाईक्षेत्रमा प्रवेश गरेका भारतीय वायुसेनाका पाइलटलाई नियन्त्रणमा लिएर तीन दिनपछि सकुशल छाडिदिएबापत आफ्ना प्रधानमन्त्रीलाई नोबेल शान्ति पुरस्कार दिइनुपर्ने उनीहरुको मत छ ।
रिपोर्टअनुसार, २ लाखभन्दा बढी पाकिस्तानीको हस्ताक्षरमा भारतीय पाइलट रिहा गर्दा देखाएको ‘जेस्चर अफ पिस’का लागि प्रधानमन्त्री इमरानलाई नोबेल शान्ति पुरस्कार दिन माग गर्दै ‘अनलाइन पेटिसन’ भरिएको छ ।
स्थानीय मिडियाका रिपोर्टहरुले पाकिस्तानी सूचना मन्त्री फेवाद चौधरीले शनिबार राष्ट्रिय सभा सचिवालयमा नोबेल शान्ति पुरस्कार प्रधानमन्त्री इमरानलाई दिलाउन सिफारिसको प्रस्ताव दर्ता गराएको संकेत गरेका छन् ।
मंगलबार पाकिस्तानी हवाईक्षेत्रमा प्रवेश गरेको भारतीय लडाकु विमान गिराएर पाकिस्तानले पाइलट अभिनन्दनलाई नियन्त्रणमा लिएको थियो ।
दुई दिनपछि बिहीबार संसद्को संयुक्त बैठकमा प्रधानमन्त्री इमरानले आफूले भारतसँग कुनै द्वन्द्व नचाहेको तर भारत आक्रमणमा उत्रिएपछि जवाफ दिनुपरेको भन्दै शान्तिपूर्ण ढंगबाटै समाधान खोज्ने पक्षमा आफू रहेको बताएका थिए । त्यसका लागि ‘शान्तिको सन्देश’का रुपमा आफ्नो नियन्त्रणमा रहेका पाइलट अभिनन्दनलाई रिहा गर्ने उनले घोषणा गरेका थिए ।
प्रधानमन्त्री इमरानको घोषणामुताबिक शुक्रबार पाकिस्तानले अभिनन्दनलाई विनासर्त रिहा गर्यो ।
यद्यपि, पाइलट अभिनन्दनको रिहाइपछि पनि कस्मिरस्थित भारत–पाक सीमाक्षेत्रमा तनाब जारी छ । शनिबार राती दुवै पक्षबाट भएको गोलाबारीमा कम्तीमा ५ सर्वसाधारणसहित सातजनाको ज्यान गएको समाचार छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।